सिटिजन्स् बैंकमा २ करोड २८ लाख अनियमितता, तीन कर्मचारी पक्राउ

18

छिनछिन खबर
काठमाडौं, भदौ १३ । २ करोड २८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सिटिजन्स् बैंक इन्टरनेशनलका तीन कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले ती कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने बैंकका कर्मचारीहरुमा भक्तपुर घर भई बांगेमुढा बसने बरिष्ठ सुन जाँचकी सामिन शाक्य, सहायक सुन जाँचकी विन्देश शाक्य र अमितराज बज्राचार्य छन् ।
त्यस्तै ऋणीहरु मोरङ शनिश्चरेका लभ बराइली र संखुवासभा चैनपुरका उमेश बराइली छन् । उनीहरुले कर्मचारीसँग मिलेर बैंक ठगेका हुन् ।


सिआइबीका एसपी सानुराम भट्टराईका अनुसार उनीहरुले सिटिजन्स् बैंकको न्यूरोड शाखामा सुन धितो राखेर कर्जा लिएका थिए ।
धितो राखिएको सुनमध्ये करिब साढे सात किलो सुन उनीहरुले े मिलेमतोमा गोप्य तरिकाले निकालेका थिए । केही महिनापछि फिर्ता गर्ने भनेर उनीहरुले सुन निकालेका थिए । त्यसका लागि कर्मचारीलाई आर्थिक प्रभावमा पारेका थिए । तर, सुन लिएपछि उनीहरु सम्पर्कविहिन भए । कर्जाको म्याद नाघेपछि बैंकले सुन लिलामी प्रक्रियातर्फ अघि बढाउँदा ७ किलो ४ सय ९७.२८ ग्राम सुन अपुग थियो ।
त्यसपछि बैंकले प्रहरीमा उजुरी दिएको हो । घटनामा संलग्न केही व्यक्तिहरु अझै फरार छन् ।

सो घटनामा बैंकलाई २ करोड २८ लाख ३८ हजार १ सय ५२ रुपैयाँ नोक्सान भएको छ । प्रहरीले बैंकिङ कसुर मुद्दामा उनीहरुमाथि कारबाही अघि बढाएको छ ।

Womui
Womui