शहीद खुनाको दाहसंस्कार गरियो

146

कञ्चनपुर, भदौ १० ।शहीद सन्नी खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ।दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए।

ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दीपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो। सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको थियो।शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर खुनाको मृत्यु भएको थियो। नगर प्रमुख विष्टले थप सहयोगका लागि पहल गर्ने बताए। उनले खुना परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।रासस

Womui
Womui