बिदा दिने प्रदेश सरकारको निर्णय सरकारी कार्यालयले टेरेनन्, मुख्यमन्त्रीद्वारा ताला लगाउन निर्देशन

211

छिनछिन खबर
जनकपुरधाम, भदौ १० ।चार दिनअघि प्रदेश नम्बर २ सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदको उपलक्ष्यमा सार्वजनिक बिदा दियो । तर, प्रदेश नम्बर २ मा रहेका संघीय सरकार मातहतका सरकारी कार्यालयहरुले बिदा कार्यान्वयन गरेनन् । अर्थात सार्वजनिक बिदालाई सङ्घीय सरकार मातहतका रहेका जिल्ला प्रशासन कार्यालय, मालपोत, राष्ट्र बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नापी कार्यालयलगायतका सरकारी कार्यालयले पालना गरेनन् ।

यसैगरी आइतबार परेको जनैपूर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा पनि प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ । आज पनि ६ भदौमा जस्तै संघीय सरकार मातहतका सरकारी निकायले बिदा कार्यान्वयन गरेको बताइएको छ ।यसरी संघीय सरकार मातहतका सरकारी कार्यालयले बिदा कार्यान्वयन नगरेपछि प्रदेश नम्बर २ को सरकार असन्तुष्ट बनेको छ ।प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भदौं ९ गते प्रदेश सरकारको राजपत्रमा एक सूचना प्रकाशित गर्दै रक्षाबन्धन तथा जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै प्रदेश भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तीय संस्था, संस्थान र विद्यालयहरुमा सार्वजनिक विदा कार्यान्वयन गराउन निर्देशन दिएका थिए ।तर, सूचनाको अटेरी गर्दै अधिकांश सरकारी कार्यालयहरु खुलेका हुन् । यद्यपी प्रदेश सरकारले बिदाका लागि सार्वजनिक सूचना जारी गरेका कारण कमै मात्रामा सेवाग्राहीहरु ती कार्यालयसम्म पुगेका छन् ।

प्राप्त जानकारीअनुसार प्रदेश २ मा रहेका आठवटै जिल्लाका जिल्ला प्रमुख कार्यालय (सिडियो), राष्ट्रिय वाणिज्य वैंक, पशु कार्यालय, जिल्ला प्रहरी कार्यालय (प्रशासन), नेपाल राष्ट्र बैंक लगायत अन्य सबै कार्यालयहरु खुल्ला रहेका छन् ।सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले संघीय सरकारले बिदा नदिएकाले कार्यालय खुल्लै राखिएको जानकारी दिए ।‘हामीलाई संघीय सरकारले बिदाको जानकारी नगराएको कारण कार्यालय बन्द नगरेका हौं । संघीय सरकार अन्तरर्गत रहेका कार्यालयलाई विदाको बारेमा कुनै सूचना अथवा जानकारी आएको छैन । त्यसैले बन्द गरेनौं ।’तर प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादव भन्छन्, ‘जिल्लाका सिडिओहरुले बदमाशी गरिरहेका छन् । प्रदेशभित्र रहेका सम्पूर्ण कार्यालयहरु बन्द रहनु पर्ने हो तर उनीहरुले जबरजस्ती कार्यालय खोलेका छन् ।’

देवानी संहिताको दफा ५१ अनुसार प्रदेश सरकारले दिने बिदाको दिन सम्पूर्ण कार्यलय बन्द रहने उल्लेख भएपनि कार्यालय प्रमुखहरुले अटेरी गरेको मन्त्री यादवले दाबी गरे ।मधेशको चाडपर्व तथा सँस्कृतिको विरुद्धमा सरकारी कार्यालयहरु उभिएको आरोप लगाउँदै उनले यसको विरुद्धमा आफूहरुले संघर्ष गर्ने चेतावनी दिए ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारलाई अटेरी गरी खुल्ला राख्ने कार्यालयमा ताला लगाउन निर्देशन दिएको बताइएको छ ।आन्तरिक मामिला मन्त्री यादवले मुख्यमन्त्रीले निर्देशन दिइसकेको बताउँदै भने, ‘खुल्ला रहेका सरकारी कार्यालयमा म आफैं गएर आज तालामा लगाउँछु र त्यसको विरुद्धमा संघर्ष शुरु गर्छु । यो हाम्रो अधिकारको कुरा हो ।’

 

Womui
Womui