निर्मला हत्याबारे अनुसन्धान गर्न सह–सचिवको नेतृत्वमा समिति गठन

57

छिनछिन खबर
काठमाडौं, भदौ ७ । गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । उनी कारागार व्यवस्थापन विभागका महानिर्देशक हुन् ।

गृहका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार समितिका अन्य सदस्यहरूमा ३ वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक (डिआईजी) र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ का प्रतिनिधि छन् ।बैठकले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमेत परिर्वतन गरेको छ ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलाई लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलाई सार्वजनिक गरिएको भन्दै आन्दोलनमा उत्रिएका थिए । बिहीबारै मात्रै आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Womui
Womui