मोदी नेपालमा असुरक्षित भएकै हुन् ?

39

मालती ओली
काठमाडौं, साउन ३० । भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोखरा र लुम्बिनी भ्रमण रद्ध गरिएको छ । यसअघि मोदी काठमाडौंमा ओर्लिएपछि पोखरा र लुम्बिनी जाने तयारी गरिएको थियो । यतिखेर एकाएक काठमाडौं बाहिरका ती दुई स्थानको भ्रमण रद्ध गरिनुलाई मोदी सुरक्षा थ्रेटमा रहेको बताइएको छ । के असुरक्षाकै कारण मोदीको पोखरा र लुम्बिनी भ्रमण रद्ध भएको हो त ? नेपालका सुरक्षाकर्मीले मोदीलाई सुरक्षित नराख्न सक्लान् धेरैलाई अचम्म बनाएको छ ।

‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि आएका हुन्छन् । सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने हुन्छ । त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने हुन्छ,’ भारतीय दूतावास स्रोतले भन्यो । त्यसले गर्दा समस्या देखिएको हुनाले भारतकै तर्फबाट नै यसपटक पोखरा र लुम्बिनीको भ्रमण नगर्ने जानकारी पठाएको बताइएको छ । २०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदी जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारीमा थिए । तर, अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द भएपछि प्रधानमन्त्री मोदीले आफै लुम्बनी भ्रमणसमेत रद्द गरेका थिए । जनकपुरको भ्रमण रद्द भएपछि लुम्बिनीको मात्र भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै त्यतिबेला भ्रमण रद्द गरेको थियो ।

जनकपुर र मुस्ताङको भ्रमण गरिसकेका मोदी यसपटक पोखरा हुँदै लुम्बनी जाने तयारी थियो । सम्मेलनमा भाग लिन काठमाडौँ आएका मोदीले भारतको सहयोगमा गौशालामा निर्मित धर्मशालाको उद्घाटन गरिने नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीले जानकारी गराइसकेका छन् । तर, पोखरा र लुम्बनीको बारेमा केही बोलेनन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पोखरा र लुम्बनी भ्रमणको बारेमा आफ्नो जानकारीमा नरहेको प्रतिकृया दिए । उनले भने, ‘गौशालामा धर्मशाला उद्घाटन गर्ने कुरा जानकारीमा आएको छ तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी र पोखराको भ्रमण गर्नुहुन्छ त्यसको बारेमा कुनै जानकारी छैन । मैले पनि सुनेको मात्रै हुँ तर त्यसको आधिकारिक जानकारी केही पनि छैन ।’

Womui
Womui