संवैधानिक परिषद्‌को बैठक स्थगित, नयाँ प्रधानन्यायाधीस नियुक्ति लम्बिँदै

72

छिनछिन खबर
काठमाडौं, साउन २३ । संवैधानिक परिषद्‌को बुधबार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि बस्ने भनिएको संवैधानिक परिषद्‌को बैठक अर्को मितिसमेत तय नगरी स्थगित गरिएको हो । परिषद्‌ सदस्य विपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि बुधबार नै सिंगापुर जाने भएकाले परिषद्‌को बैठक स्थगित गरिएको बताइएको छ ।


यसअघि प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि अब बस्ने बैठकले नयाँ प्रधानन्यायधीश सिफारिस गर्ने अपेक्षा थियो । नयाँ प्रधानन्यायाधीशका लागि यसअघि नै न्याय परिषद्‌ बैठकले दुई जनाको नाम पठाइसकेको छ । सर्वोच्च अदालतमा स्थायी न्यायाधीश रहेका ओमप्रकाश मिश्र र चोलेन्द्रशमसेर राणाको नाम संवैधानिक परिषद्‌मा छ । उनीहरुमध्ये एकलाई सुनुवाइका लागि परिषद्‌ले सिफारिस गर्नेछ ।

यस्तै, ६ महिनादेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि बुधबार नै बस्ने भनिएको संवैधानिक परिषद्को बैठकले सिफारिस गर्ने अनुमान थियो । परिषद्‌ले प्रधानन्यायधीश र आयोगको प्रमुख आयुक्त नियुक्तिको एजेन्डा राखेरै सदस्यलाई बैठकमा सहभागी हुन पत्राचार गरेको थियो । दीप बस्यातले गत फागुन १ मा अवकाश पाएयता आयोग कार्यवहाक प्रमुख आयुक्तका भरमा चल्दै आएको छ । आयोगका आयुक्त नवीन घिमिरे वरिष्ठताका आधारमा कार्यबहाक प्रमुख आयुक्त छन् । अख्तियारको प्रमुख आयुक्तमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल र हालका कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख दाबेदार मानिएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्री र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ । संवैधानिक परिषद्‌मा सर्वसम्वत निर्णय गर्ने परम्परा रहेकाले विपक्षी दललाई समेत मनाएर निर्णय गर्नुपर्ने हुन्छ ।

Womui
Womui