अख्तियारका ४ आयुक्तलाई योग्यता मुद्दामा सफाइ

111

छिनछिन खबर
काठमाडौं, साउन २१ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दा २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको छ । सोमबार सर्वोच्चले यस्तो फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षेत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा झिकाएकी थिइन् ।

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरे, पूर्व प्रमुख आयुक्त दीप बस्नेत र आयुक्तहरु सावित्री गुरुङ गणेशराज जोशीको योग्यता अख्तियारको आयुक्त हुन संविधानले तोकेको योग्यता नपुगेको दाबी गरिएको थियो । तर सर्वोच्चको फैसलापछि उनीहरुको योग्यता सम्बन्धी विवाद टुंगो लागेको छ।मुद्दा दायर भएपछि एक आयुक्तले उमेर हदका कारण पदबाट अवकाश पाउँदा समेत उक्त मुद्दाको दोस्रो सुनुवाइ हुन सकेको थिएन । सोमबार दोस्रो सुनुवाइ गर्दै योग्यता नपुगेको दाबी ठहर नहुने भन्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । सर्वोच्चले मुद्दा खारेज गरेपछि कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्तका पदमा प्रतिस्पर्धाका लागि बाटो खुल्ला भएको छ । परिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवबाट नियुक्ति भई उनीहरूले प्रमुख आयुक्त लोकमानसिंह कार्कीबाट पद तथा गोपनीयताको सपथ लिएका थिए । कार्की यसअघि नै सर्वोच्च अदालतको फैसलामा अयोग्य ठहर हुँदै अख्तियारबाट बाहिरिएका थिए ।

Womui
Womui