सिटिजन्स बैंकको एफपिओ खुल्यो, कति लगानी गर्ने ?

33

छिनछिन खबर
काठमाडौं, साउन १४ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ) साउन १५ गतेदेखि बिक्रीमा आएकोे छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा एक सय रुपैयाँ नै प्रिमियम थपेर प्रतिकित्ता २०० रुपैयाँका दरले एफपिओ निष्काशन गरेको छ ।

बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशन गरेको हो । बैंकको एफपिओमा यही साउन १५ देखि छिटोमा १८ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात दश हजार रुपैयाँ देखि २३ सय कित्ता अर्थात चार लाख ६० हजार रुपैयाँ सम्मको आवेदन दिन पाउने व्यवस्था गरिएको छ । बैंकको एफपिओ सर्वसाधारणको लागि भएकोले बैंकका संस्थापक, सञ्चालक तथा प्रबन्ध सन्चालकहरुले भने आवेदन दिन पाउने छैनन् । संस्थापक र साधारण सेयर अनुपात ५१ः४९ कायम गर्न बैंकले एफपिओ निष्कासन गर्न लागेको हो । हाल बैंकमा संस्थापकको ५१.२९ प्रतिशत तथा साधारण सेयरको ४८.७१ प्रतिशत सेयर अनुपात रहेको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । एफपिओ पछि बैंकको चुक्तापूँजीमा ४ करोड ६३ लाख रुपैयाँ थपिनेछ भने त्यति नै रकम जगेडा कोषमा जम्मा हुनेछ । एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ। सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको थियो । गत आर्थिक बर्षमा बैंकले एक अर्ब ४० करोड खुद नाफा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी अनुपात १३.४६ गुणा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४६ पैसा छ ।

Womui
Womui