डा. केसीको यसपालिको अनसन लम्बिदै गयो संवादको वातावरण बन्न सकेन

105

छिनछिन खबर
काठमाडौ, साउन ७ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी विगत २४ दिनदेखि आमरण अनसनमा छन् । डा. केसीको यो अनशन अहिलेसम्मकै लामो भएको छ ।यसअघि ११ औं अनसनका क्रममा डा. केसी २३ दिन लामो अनसन बसेका थिए । उनले गत वर्ष साउनमा २३ दिन लामो अनसन बसेका हुन्

डाक्टर गोविन्द केसी

त्यसबेला प्राकृतिक विपद् भई तराइमा बाढी आएर सर्वसाधारणलाई उपचार गर्न अप्ठ्यारो भएको भन्दै उनले २३ दिनमा आफ्नो अनसन अचानक स्थगित गरेका थिए । त्यो नै उनको अहिलेसम्मको सबैभन्दा लामो अनसनको रेकर्ड हो ।

जबकि पन्ध्रौं अनसनसम्म आइपुग्दा डा. केसीको अनसन अझै केही दिन जारी रहने देखिएको छ ।हाल गठित वार्ता टोलीसित समेत डा. केसी पक्षले वार्ता गर्न इन्कार गरेका छन् । जसका कारण डा. केसीको यो अनसन थप लम्बिने देखिएको छ ।

सरकारले केही दिनलाई संसद् स्थगित गरेर सकारात्मक संकेत दिए पनि संसदमा पेश भएको चिकित्सा स्वास्थ्य विधेयक फिर्ता लिने संकेत दिएको छैन । विधेयक फिर्ता हुनुपर्ने माग राख्दै अनसन बसेका डा. केसीले गत असार १६ गते जुम्लाबाट आफ्नो अनसन सुरु गरेका थिए । उनले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै अनसन बसेका थिए ।

तर अनसनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सरकारले डा. केसीलाई चार दिनअघि जुम्लाबाट ‘रेस्क्यु’ गरी काठमाडौ ल्याएको थियो । डा. केसी हाल त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेका छन् ।

Womui
Womui