२ अर्ब ६४ करोडको आइपिओ बिक्री गर्दै माथिल्लो तामाकोशी

46

छिनछिन खबर
काठमाडौं, साउन २ । लगानीकर्ताको बहुप्रतिक्षामा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले धितोपत्र बोर्डबाट दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँको साधारण सेयर (आइपिओ) विक्री गर्न अनुमति प्राप्त गरेको छ ।हाइड्रोपावर कम्पनीले स्थानीयबासी र आमसर्वसाधारणका लागि चुक्ता पूँजीको २५ प्रतिशत साधारण सेयर जारी गर्न बोर्डबाट अनुमति प्राप्त गरेको हो । अनुमति प्राप्त गरेसँगै अब कम्पनीले छिट्टै सेयर निष्कासन मिति तोकेर दुई करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्नेछ ।


निष्कासन हुने साधारण सेयरमध्ये चुक्ता पूँजीको १० प्रतिशत अर्थात एक करोड पाँच लाख ९० हजार कित्ता दोलखाको स्थानीयबासीका लागि र १५ प्रतिशत बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता आम लगानीकर्तालाई बिक्री गर्न अनुमति पाएको हो । आइपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । पहिलो चरणमा स्थानीय बासीका लागि सेयर जारी गरेपश्चात दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणमा सेयर जारी हुनेछ । आयोजनाले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्कासन गरिसकेको छ ।

यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौं निमार्ण गर्न कार्य अगाडि बढाइसकेको छ । दोलखाको गौरीशकंर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि बढेर ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी पुसभित्र बिजुली उत्पादन गर्नेगरी आयोजनाको काम आगाडि बढिरहेको छ । आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

Womui
Womui