डा.केसीको माग सम्बोधन नभएसम्म संसद चल्न नदिने काङ्ग्रेसको अडान

64

छिनछिन खबर
काठमाडौं ,असार ३२ ।प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सरकार अनसनरत डाक्टर गोविन्द केसीको माग र उहाँको स्वास्थ्यप्रति गैह्र जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्यालाई सम्बोधन गर्नुपर्नेमा विगतका सबै समस्यालाई ज्युँकात्युँ राख्दै, यस क्षेत्रमा थप विसंगति निम्त्याउने र माफियाहरुलाई चलखेल गर्न अझै सहज बनाउने गरि सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पेस गरेको दाबी कांग्रेसले गरेको छ ।सभामुख कृष्णबहादुर महराले सोमबारको बैठकको कार्य सुरु भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । लगत्तै सभामुखबाट समय लिएर बोलेका सांसद मिनबहादुर विश्वकर्माले सरकार समस्या समाधानमा भन्दा समस्या बल्झाउने नियतमा उद्धत भएको भन्दै गम्भीर आपत्ति जनाए ।

सरकार संसदमा प्रतिपक्षीले उठाएका आवाज सम्बोधन गर्नुको सट्टा संसदलाई नै मज्जाक बनाउदै अभिव्यक्ति दिने गरेको भन्दै उनले गम्भीर आपत्ति जनाए । ‘संसदमा एक दुईजना उभिदैमा संसद अवरोध हुँदैन । एकदुई जनाको ज्यान जाँदैमा, एकदुई जना मानिस मर्दैमा मुलुकमा कुनै विपत्ति आउँदैन सरकार पछाडि फर्केर हेर्न जान्दैन । सरकार कसैलाई पनि वास्ता गर्दैन भनेर सरकारका जिम्मेवार प्रधानमन्त्री, कानुनमन्त्री र स्वास्थ्य मन्त्रीबाट जवाफ आइरहेका हुनाले संसदको नियमावलीमा शून्य समय र विशेष सममा उठाएका प्रश्नहरुको जवाफ सरकारले दिनुपर्नेमा सरकार सार्वजनिक मञ्चहरुमा, चोक चौतारीमा, सरकारी सञ्चारमाध्यममा संसदलाई खिल्ली उडाउने र संसदलाई ठट्टा मजाकमा उडाउने गरि जवाफ दिइराखेको हुनाले संसदमा पूरानै अध्यादेशलाई आधार बनाई अनसनरत डाक्टर केसीको माग सम्बोधन नभएसम्म संसद चल्न सक्दैन’ उनले भने ।

त्यसैगरी उनले सरकार तानाशाही शैलीमा अघि बढेको दाबी गरे । ‘यो विषयमा गैह्र जिम्मेवार बनेको छ, सरकार जवाफदेहिता विर्सेर एक ढंगबाट तानाशाही र सर्वसत्तावादी शैलीबाट सरकार अघि बढेकाले यस्तो स्थितिमा प्रमुख प्रतिपक्षीको दृिष्टबाट संसद अघि नबढ्ने जानकारी गराउँछु’ विश्वकर्माले घोषणा गरे ।सभामुख कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट विधेयक अघि बढेको र त्यसमा प्रतिपक्षी दलका सांसदबाट विरोधको सुचता दर्ता भएबाट प्रक्रियामा सहभागी भएको बुझिने भएकाले प्रक्रिया अघि बढाउन आग्रह गरे । उनले डाक्टर केसीको माग सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसका सांसदहरु उभिएर विरोध जनाइरहेपछि नेकपाका सांसद कृष्णभक्त पोखरेलले संसद नियमावलीको नियम ६ ले बैठक सञ्चालनका लागि सबै दलका सदस्यले सहयोग गर्नुपर्छ भनिएको उल्लेख गर्दै नियमित प्रक्रियाबाट विधेयक ल्याउँछ भने समर्थन गर्छौ भन्ने दलले फेरि प्रक्रिया अघि बढाउन नदिएर संसदीय गतिरोध गर्न नमिल्ने बताए । अल्पमतले वहुमतले कानुननै बनाउन दिन्न भन्ने विश्वमा कुनै दृष्टान्त नभएको भन्दै उनले विरोध स्वीकार्य हुन नसक्ने बताए ।

सभामुखको पटक–पटकको अनुरोधका बाबजूत कांग्रेस सांसदहरु यथा स्थानमा उभिइरहेपछि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । सोमबारको बैठकको कार्यसूचीमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद गगनकुमार थापा, प्रेम सुवाल,सरिता गिरीले प्रस्तुत गर्नुभएको विरोधको सुचनालाई निणयार्थ गर्ने कार्यतालिका थियो ।साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने र अर्थमन्त्री युवराज खतिवडाले वीमा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यतालिका थियो ।

Womui
Womui