नेपालबाट लैजाँदा हेल्पर, विदेशमा ड्राइभर… अनि जेल

58

मालती ओली
काठमाडौं, असार २७ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नहुँदा गाडी चलाएका कारण गोरखा, भीमसेन गाउँपालिका–७ का कुमार रानामगर पछिल्लो पाँच महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन् ।


नेपालबाट जाँदा कुमारले खालिद एसएल कम्पनीमा हेल्परको काम गर्ने सम्झौता गरेका थिए । तर, त्यो कम्पनीले हेल्परको साटो कुमारलाई ड्राइभरको काममा लगायो । ठूलो गाडी चलाइरहेको बेला पछिल्लतिरबाट आएको कार ठोकिँदा साउदी नागरिक घाइते भएकोमा रानामगरलाई दोषी ठहर गर्दै त्यहाँको अदालतले दुई लाख ९४ र साउदी रियाल (करिब ८३ लाख रुपैयाँ) बझुाउनु पर्ने फैसला गरेको छ । उनकी पत्नी अम्बिकाका अनुसार कुमारलाई जेलमुक्त गर्न अदालतको फैसला अनुसार ८३ लाख रुपैया जुटाउने कुनै उपाय छैन ।
रोभ म्यानपावरलाई तीन लाख ३० हजार रुपैयाँ बुझाएर साउदी गएका झापा, वृद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बुले पछिल्लो एक वर्षदेखि घरपरिवार र आफन्तलाई छिटो घर फर्काउन हारगुहार गरेका ग¥यै छन् ।

वैदेशिक रोजगारीबाट घरपरिवारको गुजारामा सहज हुने अपेक्षाले साउदी गएका प्रशान्त नसोचेको अवस्थामा पुग्नुको कारण पनि लाइसेन्सबिना सवारी साधन चलाउनु हो । पिता उत्तरसिंहका अनुसार साउदीको करम अल खालीज कम्पनीको साहुले लाइसेन्स नहुँदा नहुँदै गाडी चलाउन लगाएका कारण प्रशान्त समस्यामा परेका हुन् । सन् २०१७ अप्रिल, रमजानको दोस्रो दिन गाडीमा सामान लोड गर्दै गर्दा साउदी नागरिकले चलाइरहेको गाडी ठोकिनुमा अदालतले प्रशान्तलाई दोषी ठहर गरेको छ । उक्त दुर्घटनामा साउदी नागरिकको ज्यान गएकाले अदालतले दुई लाख ५० हजार साउदी रियाल (करिब ७२ लाख रुपैयाँ) ब्लड मनी बुझाउने पर्ने फैसला गरेको छ ।
ब्लड मनी जोहो गर्ने कुनै उपाय नभएको उत्तरसिंह बताउँछन् । ‘सम्पत्तिको नाममा झापामा एक कट्टा जमिन मात्र छ,’ ‘उनले भने, ‘साउदीबाट छोराले छिटो घर फर्काउने व्यवस्था मिलाइदिन आग्रह गरिरहेको छ । कसरी घर फर्काउने हो कुनै उपाय छैन ।’ प्रशान्तलाई साउदी साहुले पछि लाइसेन्स निकालिदिने सर्तमा गाडी चलाउन लगाएको थियो । लाइसेन्स तयार हुन नपाउँदै दुर्घटना भएपछि यतिखेर उनी मात्र नभई पूरै परिवार अलपत्र परेको छ ।

पछिल्लो समयमा रोजगारीमा गएका युवालाई गन्तव्य मुलुकका रोजगारदाताले सवारी चालक अनुमति पत्रको लोभ देखाउँदै सवारी साधन चलाउन लगाउने र जसले गर्दा कामदार समस्यामा पर्ने क्रम बढेको पाइएको छ । गन्तव्य मुलुकको सवारी चालक अनुमति पत्र नलिएका कामदारलाई गाडी चलाउन लगाउँदा सस्तो पर्ने भएकाले रोजगारदाता कम्पनीले त्यस्तो धन्दा चलाइरहे पनि कामदार दुर्घटनामा पर्दा कुनै सहयोग गर्ने गरेका छैनन् । साउदीमा ब्लड मनी बुझाउन नसकेका कामदारको विवरण संकलन गरिरहेको प्रवासी नेपाली समन्वय समितिका अनुसार लाइसेन्स नभएका कामदारलाई गाडी चलाउन लगाउने र दुर्घटनामा परेपछि उद्धार गर्न मात्र करोडौं रकम चाहिने अवस्था सिर्जना भएको छ । ‘साउदीमा लाइसेन्स नभएका नेपालीलाई गाडी चलाउन लगाउने क्रम निकै बढ्यो,’ समितिका अध्यक्ष कुलप्रसाद कार्कीले भने, ‘यसको मुख्य दोष साउदी सरकार र मेनपावरको छ ।’

ड्राइभिङ भिसामा जाने भन्दा नेपालबाट फरक काममा जाने र विदेशमा गाडी चलाउँदा समस्या बढिरहेको पाइएको छ । सवारी चालक अनुमति पत्र नभएका नेपालीलाई उद्धार गर्न मात्र करोडौं रुपैयाँ लाग्ने अनुमान गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यतिखेर रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीमध्ये तीन सय ३३ जना जेलमा छन् । तीमध्ये सबभन्दा बढी साउदीमा दुई सय १९ जना रहेको बताइएको छ । त्यस्तै २३ जना नेपाली विदेशी अस्पतालको कोमा (अचेत) मा छन् । चालु आर्थिक वर्षको १० महिनासम्म सात सय ७७ नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

Womui
Womui