देशभर बाढीको वितण्डा, तीनको मृत्यु, हजारौं प्रभावित

79

मालती ओली
काठमाडौं, असार २८ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भाग प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीका कारण विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ भने हजारौं सर्वसाधारण घाइते र प्रभावित भएका छन् ।
वर्षाले काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । वर्षाले नारायणगढ–मुग्लिङ सडक र वीपी राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ ।


महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । श्रेष्ठका अनुसार जगातीमा सडक क्षेत्र नै डुबानमा पर्दा यातायात अवरुद्ध हुन पुगेको थियो । भक्तपुरको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्य्विनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परे ।

सोही नगरपालिकामा अवस्थित सिद्धस्मृति महिला तथा बाल अस्पताल, डाक्टर इवामुरा अस्पताल भित्र पनि बाढी पसेको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्तीमा रहेका घरहरुको तत्लो तला सबै डुबेका छन् । सूर्य्विनायक नरपालिकामा चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेगमा डुबान भएको छ ।भक्तपुरमा हालसम्म डुबान क्षेत्रबाट १५० जनाभन्दाको उद्धार गरेको छ । उद्धारको लागि नेपाली सेना, शस्शस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायकाहरु उद्धारमा जुटेका छन् । राधेराधेमा डुबानक्षेत्र फँसेका केहीलाई नेपालीसेनाले क्रेननको सहायतामा उद्धार गरिरहेको छ ।

काठमाडौँमा पनि बागमती र मनोहरा खोलाको बहाव बढेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहन थापाका अनुसार बाढीको खतरा बढेपछि बल्खु क्षेत्रका आठ घर खाली गराइएको छ ।

Womui
Womui