श्रमिकको न्यूनतम पारिश्रमिक १३,४५०

47

मालती ओली
काठमाडौं, असार २५ । अब हरेक श्रमिकको पारिश्रमिक १३,४५० हुने भएको छ । जुन पारिश्रमिक हालको भन्दा पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको हो । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबीचको सोमबारेको छलफलले पारिश्रमिक निर्धारण गरिएको हो । त्यस पारिश्रमिकमा सञ्चय कोष, उपदान, सामाजिक सुरक्षा तथा बिदालागतयका सुविधा जोडिएको छैन ।


नयाँ श्रम ऐनले कामदारको सामाजिक सुरक्षालाई अनिवार्य गरेकाले अबदेखि हरेक रोजगारदाताले सञ्चय कोषका लागि १०, उपदानका लागि ८.३३ र सामाजिक सुरक्षा कोषका लागि १.६७ प्रतिशत रकम समेत बेहोर्नुपर्नेछ । चाडपर्वको बेला एक महिना बराबरको तलब, वर्षमा १८ दिन नियमित र १२ दिन बिरामी बिदा तथा दुर्घटना बिमा पनि अनिवार्य गरिएको छ ।

हाल श्रमिकको न्यूनतम पारिश्रमिक नौ हजार सात सय रुपैयाँ छ । हालको न्यूनतम पारिश्रमिकमध्ये छ हजार दुई सय पाँच रुपैयाँ आधारभूत पारिश्रमिक हो । जुन पारिश्रमिक दुई वर्षअघि निर्धारण गरिएको थियो । त्यतिखेर न्यूनतम पारिश्रमिक एक हजार आठ सय रुपैयाँले वृद्धि गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसपटक तय गरिएको न्यूनतम तलबको वृद्धि अहिलेसम्मकै उच्च भएको बताए । अहिले तोकिएको न्यूनतम तलबमध्ये आधारभूत तलब आठ हजार चार सय ५५ रुपैयाँ कायम गरिएको छ ।

त्रिपक्षीय सहमतिमा मजदुरको तलब निर्धारण गरिएकाले न्यूनतम पारिश्रमिक निर्णय लागू हुनेमा सरोकारवाला विश्वस्त छन् । मन्त्रालयका सचिव महेश दाहालले त्रिपक्षीय सहमति कार्यान्वयनका लागि सबै जिम्मेवार ढंगको दायित्व हुने बताए । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ट्रेड युनियन र रोजगारदाताबीच भएको उक्त सहमति कार्यान्वयनका लागि महासंघ प्रतिबद्ध रहेको बताइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा यतिखेरको सहमति श्रमिक र रोजगारदाताका लागि विजयी भएको बताए । १३ हजार चार सय ५० न्यूनतम पारिश्रमिक तोकिएकोमा ट्रेड युनियनले स्वागत गरेका छन् । जिफन्टका महासचिव जनक चौधरीले स्वदेशमा रोजगारी वृद्धि र निजी क्षेत्रसँग साझेदारी गर्नुपर्ने अवस्था रहेकाले न्यूनतम १३ हजार चार सय ५० रुपैयाँ पारिश्रमिकमा सहमति गर्नुपरेको बताए । हाल नेपालमा विभिन्न क्षेत्रमा करिब ५० लाख श्रमिक रहेको अनुमान छ । विगतमा १० जना भन्दा बढी मजदुर कार्यरत रहेका उद्योग प्रतिष्ठानले कामदारको न्यूनतम पारिश्रमिक लागू गर्नुपथ्र्यो भने यसपटकदेखि एक जना मजदुर राख्ने उद्योगले समेत न्यूतम पारिश्रमिक दिनु पर्नेछ ।

Womui
Womui