नेपालगन्जमा के गर्दैछन् पुर्वराजा ?

49
  • भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भेट्न आउँदै

विजय मल्ल
नेपालगन्ज, असार २५-
पुर्वराजा ज्ञानेन्द्र शाहको आगमनसँगै नेपालगन्जमा सिंगो क्षेत्रको ध्यान केन्द्रित भएको छ । आफ्नो ७२ औं जन्मोउत्सव मनाउन नेपालगन्ज आइपुगेका पुर्वराजालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका उच्च ब्यक्तित्वले भेटघाट गर्दैछन् । आफ्नै लगानीमा नेपालगन्जको कारकादोंमा सञ्चालित होटेल सोल्टीमा बस्दै आएका ज्ञानेन्द्रलाई विभिन्न जिल्लाबाट आएर उनका शुभेच्छुकले भेटघाट गरिरहेका छन् ।

पुर्वराजाको शनिबार आयोजित जन्मोत्सव समारोहमा शुभकामना दिने शुभेच्छुकको ठुलो भिड लाग्यो । जन्मोत्सव कार्यक्रम पश्चात पनि उनलाई भेट्न राजसंस्था सर्मपित ब्यक्ति विभिन्न ठाउँबाट नेपालगन्जमा आइपुगेका छन् । श्रोतका अनुसार पुर्वराजालाई पुनः सक्रिय भूमिकामा आउन शुभेच्छुकले आग्रह गरिरहेका छन् । तर, पुर्वराजाले शुभेच्छुकहरको सुझावलाई मनन गरेपनि कुनै प्रतिक्रिया भने दिएका छैनन् । नेपालमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना हुनुपर्ने भन्दै लामो समयदेखि वकालत गर्दै आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत पुर्वराजालाई भेट गर्न नेपालगन्ज आउने योजना बनाएका छन् ।

उनको नेपालगन्ज आगमनको मिति र समय भने तय नभएको र गोप्यरुपले भेट्न आउने मनसायमा मुख्यमन्त्री आदित्यनाथ रहेको श्रोतले जनाएको छ । राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले पुर्वराजालाई भेट्न भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने कार्यक्रम निश्चित भएपनि समय तय नभएको बताए । पुर्वराजा ज्ञानेन्द्र ६ महिनाअघि नेपालगन्ज भ्रमणमा आएको बेला भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न लखनउ पुगेका थिए । ‘राजाको नेपालगन्ज बसाईका क्रममा मुख्यमन्त्री आदित्यनाथ भेटघाटका लागि आउने निश्चित छ । तर समय एकिन भइसकेको छैन ।’ उनले भने, ‘नेपालगन्ज बसाईका क्रममा ‘सरकार’ भेटघाटमै ब्यस्त हुनुहुनेछ ।’

देवकोटाका अनुसार पुर्वराजा भ्रमणका क्रममा दाङ लगायत पश्चिम नेपालको भ्रमणमा जाने कार्यतालिका रहेको छ । शनिबार आफ्नो ७२ औं जन्मोत्सव मनाएका पुर्वराजा ज्ञानेन्द्र आइतबार भने कुनै औपचारिक भेटघाट नगरेको देवकोटाले बताए । ‘राजा सुदूरपश्चिमका विभिन्न धार्मिक स्थलको भ्रमण गर्नुहुनेछ, सो क्रममा शुभेच्छुकसँग भेटघाट गरि पुनः नेपालगन्ज आउनुहुनेछ,’ उनले भने । देवकोटाले सद्भावसँग कुरा गर्दै भने सरकारको नेपालगन्ज बसाई लम्बिनेछ । पश्चिम नेपालमा पहिलो पटक पुर्वराजा ज्ञानेन्द्र आफ्नो ७२ औं जन्मोत्सव मनाउन सपरिवार नेपालगन्ज आएका हुन् । ज्ञानेन्द्रसँग उनकी पत्नी कोमल, छोरा पारस, बुहारी हिमानी र नातीसहित होटेल सोल्टीमा बस्दै आएका छन् ।

Womui
Womui