आगामी तीन दिन देशैभर वर्षा हुने

298

काठमाडौं, असार २३ । आगामी तीन दिनसम्म देशैभर बदली तथा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।


शनिबार दिउँसो देशका पूर्वी र पश्चिम क्षेत्रका भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र मध्य क्षेत्रका भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ । साँझ देशभरि नै सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । यस्तै, आइतबार दिउँसो देशभरि नै सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । साँझ पनि देशभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने देशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

सोमबार दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पूर्वी तथा मध्य क्षेत्रको एक र दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सोही दिन साँझ पनि देशभरि नै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।
रासस

Womui
Womui