नेपालगन्ज उपमहानगरपालिकाको २ अर्व ४३ करोड ३८ लाख बजेट पारित

144

नेपालगन्ज, असार २१-
नेपालगन्ज उपमहानगरपालिकाको तेस्रो नगर सभाले २ अर्व ४३ करोड ३८ लाख ३८ हजार ३६ को बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७५/७६ को लागि बिहीबार उक्त बजेट पारित गरेको हो । यसअघि असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमसहितको उक्त बजेट बिहीबार परिमार्जनसहित पारित भएको हो । यसअघि नगरप्रमुख डा. धवलसम्शेर राणा र उपप्रमुख उमा थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट परिमार्जनसहित पारित भयो ।

नगर सभाले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक विधेयक र विनियोजन विधेयक स्वीकृत गर्दै ४६ वटा महत्वपूर्ण निर्णय समेत गरेको छ । सभाले आर्थिक वर्ष २०७५/७६ लाई वातावरण, सरसफाई तथा हरियाली वर्षका रुपमा लिइने लक्ष्यसहित नगर स्तरीय योजना तथा कार्यक्रम, लक्षित वर्गका कार्यक्रम, प्रर्वद्धनात्मक कार्यक्रम, वडास्तरिय कार्यक्रम, विषयगत शाखामार्फत सञ्चालन हुने कार्यक्रम समेतको बजेट पारित भएको छ । स्वीकृत आर्थिक विधेयकले करको दररेट, सेवाशुल्क, भाडा तोक्ने र करका नीति समावेश आर्थिक विधेयकल राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धिमा मद्धत पुर्याउने विश्वास गरिएको छ ।

नगर प्रमुख डा. धवलसम्शेर राणाको अध्यक्षतामा भएको बन्दसत्रमा व्यापक छलफल पश्चात स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा ६९(४) र दफा ७३(२) को व्यवस्था अनुसार वडास्तरबाटै अधिकृत स्तरको कर्मचारी र लेखा कर्मचारी उपमहानगरपालिकाले उपलव्ध गराएर तत्काल खाता खोल्ने निर्णय गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को दफा १३ बमोजिम न्यूनतम दररेट निर्धारणमा एकरुपता ल्याउन सरोकारवालासँगको समन्वयमा न्यूनतम दररेट निर्धारण गर्न नगरकार्यपालिकालाई अधिकार दिने, बेरुजु असुलीका लागि आवश्यक कारबाही गर्न पहल गर्ने, वर्तमान कर प्रणालीमा सुधार, फोहरमैला तथा विपद् व्यवस्थापन, सरसफाई तथा वातावरण संरक्षणमा विशेष पहल गर्ने, आधुनिक एवं सुविधासम्पन्न स्टेडियम निर्माण गरिने, कैलाश मानसरोवर मन्दिर लगायत अन्य संरचना निर्माण गर्ने, छात्रा कलेजको स्थापना गर्ने लगायत महत्वपुर्ण निर्णय पारित गरेको छ ।

Womui
Womui