कोरिया कामदार छनोट आगामी वर्षदेखि भाषासँगै सीपको पनि परीक्षा लिइने

70

छिनछिन खबर
काठमाडौं, असार १७ । दक्षिण कोरिया सरकारले सन् २०१९ देखि कोरियन भाषा परीक्षासँगै सीप र कार्यदक्षताको पनि परीक्षा लिने तयारी गरेको छ । रोजगारीका लागि कोरिया जान चाहने युवाले अबदेखि परीक्षाको तयारी गर्दा भाषासँगै सीप र कार्यदक्षताको तालिम पनि लिनुपर्ने भएको छ। यस्तो तयारी भइरहे पनि नेपाल सरकारले यस सम्बन्धी कोर्स अफ स्टडी भने बनाइसकेको छैन ।

हाल कोरियन भाषा परीक्षामा उत्कृष्ट हुने परीक्षार्थीलाई छनोट गरिँदै आएको छ । गत वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार बनाउने तयारी भइरहेको वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ । कोरियन भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि रोजगारीका लागि कोरिया जाने अवसर पाइने इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए ।


मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरिया नेपाल शाखाका अनुसार, २०१९ देखि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियाली भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ छनोट विधि लागू गर्ने तयारी गरिरहेको भण्डारीले जानकारी दिए। रोजगार अनुमति प्रणाली लागू भएका १६ वटा राष्ट्रमध्ये अधिकांशमा कोरिया सरकारले यो अंक प्रणाली लागू गरिसकेको शाखाले जनाएको छ ।
नेपालमा २०१७ देखि लागू गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । अंक प्रणाली लागू गरिएमा पहिलो चरणमा कोरियाली भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण तथा कार्यदक्षता मूल्यांकनमा प्राप्त अतिरिक्त अंकलाई जोडेर कुल प्राप्तांकको आधारमा सबैभन्दा धेरै अंक ल्याउनेलाई अन्तिम छनोट गरिने शाखाको भनाइ छ ।
हालसम्म कोरियाको रोजगारदाताले माग गरे अनुसार काम गर्ने क्षमता, शारीरिक शक्ति, कामको अनुभव लगायत विभिन्न विषयलाई नेपालले सम्बोधन गरेको छैन। रोजगारीका लागि कोरिया जाने अन्य देशका कामदारभन्दा नेपाली कामदारको सीप र कार्यदक्षता कमजोर मानिन्छ । अन्य विदेशी कामदारको तुलनामा नेपाली कामदारको कोरियन भाषा राम्रो भए पनि शारीरिक अवस्था, सीपको स्तर र कामको अनुभवमा भने कमजोर हुने गरेका छन् । कोरियामा काम गर्न इच्छुक व्यक्तिमा कोरियाली भाषा दक्षता केही कमजोर भए पनि सीप र दक्षता उच्च हुनुका साथै कामको अनुभव बढी भएमा रोजगारीको अवसर बढाउन यो प्रणाली लागू गर्न लागिएको शाखाको बुझाइ छ ।
२०१९ देखि भाषा परीक्षा कम्प्युटरबाट

नेपाल सरकार र कोरिया सरकारबाट संयुक्त रुपमा सञ्चालन भएको सीप विकास तालिम केन्द्रको नयाँ भवन निर्माण भइरहेको छ । भवन बनिसकेपछि हाल चलिरहेको परीक्षा प्रणाली ‘पेपर बेस टेस्ट’ (पिबिटी) परिवर्तन गरी कम्प्युटर बेस टेस्ट (सिबिटी) बाट परीक्षा सञ्चालन गरिने इपिएस शाखाले जानकारी दिएको छ । कोरियन भाषा परीक्षा २००८ देखि हालसम्म कागजमा सञ्चालन हुँदै आएको छ। आगामी वर्षदेखि कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गर्ने विषयमा मानव संशाधन विकास बोर्ड कोरिया नेपाल शाखाले नेपालको वैदेशिक रोजगार इपिएस शाखालाई जानकारी गराइसकेको छ । तर, नेपालमा कोरियन भाषा परीक्षाको तयारी गर्ने धेरै युवासँग कम्प्युटर सम्बन्धी राम्रो ज्ञान नहुने भएकाले शाखाले कोरिया सरकारसँग सन् २०२१ देखि मात्र यो प्रणाली लागू गर्न अपिल गर्दै आएको छ ।

Womui
Womui