भारतद्वारा मालदिभ्सविरुद्ध नाकाबन्दी, किन ग¥यो यस्तो ?

40

छिनछिन खबर
काठमाडौं, असार १६ । साढे दुई वर्षअघि नेपालमाथि नाकाबन्दी लगाएको भारतले अहिले सार्कको अर्को मुलुक मालदिभ्समाथि नाकाबन्दीको अस्त्र प्रहार गरेको छ । भारत र मालदिभ्सबीच पछिल्ला केही वर्षयता देखिएको कुटनीतिक टकराव अन्त्य नभएपछि अहिलेको अवस्था देखिएको हो ।


भारतको वैदेशिक व्यापार निर्देशनालयका अनुसार मालदिभ्समा नियमित रुपमा निर्यात गरिँदै आएको अत्यावश्यक खाद्य सामग्रीको निर्यातमा कटौती गरिएको छ ।भारतले मालदिभ्समा चामल, आलु, प्याज दाल जस्ता अत्यावश्यक सामग्री निर्यात गर्ने गर्छ । मालदिभ्सले आफूलाई आवश्यक सबै खाद्यान्न आयात गर्ने गर्छ । भारतले अत्यावश्यक खाद्य पदार्थ निर्यातमा रोक लगाएपछि त्यहाँ भारत विरोधी भावना झन् चर्किदै गएको छ । केही वर्ष अघिसम्म दक्षिण एसियामा भारतको सहयोगी मानिने मालदिभ्सको भारतसँगको सम्बन्ध केही यता चिसिन थालेको थियो ।

मालदिभ्सको राजनीतिक नेतृत्व चीनसँग नजिकिँदै गएपछि भारतीय पक्षले असन्तुष्टि जनाउँदै आएको थियो । चीनले मालदिभ्सको पर्यटन तथा अन्य पूर्वाधार विकासमा लगानी गरेको छ । मालदिभ्सले सन् १९८१ मा भारतसँग व्यापार सन्धी गरेको थियो । सन्धी अनुसार मालदिभ्सले आफूलाई एक वर्षमा आवश्यक पर्ने खाद्य पदार्थको मात्रा बताएपछि त्यही अनुसार भारतले निर्यात गर्ने तय भएको थियो ।
सन्धीमा भारतमा खाद्य संकट देखिएको अवस्थामा बाहेक अरु अवस्थामा मालदिभ्समा खाद्य निर्यातमा कुनै रोकावट नहुने पनि उल्लेख गरिएको छ । भारतले मालदिभ्समा सन् २०१७ र १८ मा २ सय १७ मिलियन डलर बराबरको खाद्यान्न निर्यात गरेको थियो ।
मालदिभ्सले भारतबाट बार्षिक ५ हजार ५ सय ८९ मेट्रिक टन आलु, १० हजार २ सय ७१ मेट्रिक टन प्याज र २३ हजार ३ सय ६१ मेट्रिक टन चामाल आयात गर्ने गर्छ ।

चीनसँगको सम्बन्धले भारत डराएको हो ?
मालदिभ्सको पछिल्लो राजनीतिक नेतृत्व चिनियाँ लगानी देशमा भित्र्याउनका लागि चीनसँग सम्बन्ध विस्तार गर्ने रणनीतिमा छ । मालदिभ्सको यस्तो रणनीतिको डरले विरोध गर्दै आएको थियो । कुटनीतिक विरोधबाट मालदिभ्सले चीनसंगको सम्बन्ध विस्तार नरोकेपछि भारतले नाकाबन्दी लगाएको बताइन्छ ।

गत वर्ष डिसेम्बर ८ मा मालदिभ्सले चीनसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) मा हस्ताक्षर गरेपछि भारत झन् आक्रोशित बनेको थियो । व्यापार सम्झौतासंगै चीन र मालदिभ्सले ९५ प्रतिशत सामाग्रीमा लाग्दै आएको आपूर्ती कर समेत खारेज गरेका छन् ।मालदिभ्स चीनको वान बेल्ट एण्ड रोड परियोजना अन्र्तगतको मेरिनटाइम सिल्क सडकमा समेत जोडिएको छ । गएको फेबु्रअरीमा भारतले हिन्द महासागरमा चिनियाँ उपस्थितिलाई रोक्न तथा साझेदारी बढाउनका लागि १६ वटा देशको सहभागितामा संयुक्त सैनिक अभ्यास आयोजना गरेको थियो । भारतको यो कार्यक्रमलाई मालदिभ्सले अस्वीकार गरेको थियो ।

मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिनले देशमा संकटकाल घोषणा गरेर भारतलाई आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न समेत चेतावनी दिएका थिए । गत महिना मात्रै भारतले राष्ट्रपति यामिन निकट मानिने सांसदलाई भारत प्रवेशमा रोक लगाएको थियो ।
मालदिभ्सले भारतलाई सन् २०१३ मा उसले दिएको दुई वटा हेलिकोप्टर फिर्ता लैजान भनेको थियो । मालदिभ्समा काम गर्दै आएका २ हजारभन्दा बढी कामदारको वर्क पर्मिटपनि नवीकरण गरिएको छैन । (एजेन्सीहरूको सहयोगमा)

Womui
Womui