जोरपाटीको हिलाम्य सडकमा धान रोप्दै कविता बाचन गरे कविले

143

छिनछिन खबर
काठमाडौ, असार १५ । देशका विभिन्न भागमा खेत–खेतमा धान रोपाई भईरहेका बेला काठमाडौंमा भने कविहरुले कविता बाचन गर्दै हिलाम्मे सडकमा धान रोपाई गरेका छन् । काठमाडौंको जोरपाटीमा शुक्रबार कविहरुले सडक कविता बाचन कार्यक्रम आयोजना गरी प्रतिकात्मक रुपमा सरकारको विरोध गर्दै सडकमा धान रोपाई गरेका हुन् ।

 

जोरपाटीमा रहेको साहित्यिक संस्था अभिनव साहित्य समाजलगायत अन्य ५ वटा संस्था मिलेर सडकमा धान रोपाई तथा सडक कविता वाचन कार्यक्रम गरिएको संस्थाका अध्यक्ष वेदमणि घिमिरेले जानकारी दिए । काठमाडौंको बौद्धदेखि जोरपाटी हुँदै साँखुसम्म सडक विस्तार गर्ने नाममा सडकलाई बेहाल बनाएको भन्दै त्यसको बिरोधस्वरुप प्रतिकात्मक रुपमा धान रोप्ने र कविता बाचन गर्ने कार्यक्रम गरिएको घिमिरेले बताए ।

कार्यक्रममा सहभागी ५० भन्दा बढी कविहरुले सडकको हिलो, धुलो, धुँवा, जाम सडकमा नराम्रा पक्षको बारेमा कविता वाचन गरेका थिए । उनीहरुलाई अघिपछिको जस्तो सृङ्गारिक, राजनीतिक लगायतका विषयमा कविता वाचन गर्न दिइएको थिएन ।

 

अभिनव साहित्य समाजका अध्यक्ष घिमिरेले बौद्धदेखि साँखुसम्मको सडक झन् झन् बेहाल हुँदा पनि सरकार र ठेकेदारको ध्यान नगएको गुनासो गरे । अहिले जनता र सरकार दुबैलाई झक्झकाउने बेला आएको बताउँदै उनले यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

Womui
Womui