बुद्ध एयरले माग्यो नेपालगन्ज–नयाँ दिल्ली उडान अनुमति

191

छिनछिन खबर
नेपालगन्ज, असार १२ । बुद्ध एयरले नेपालगन्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष निवेदन दिएको छ । बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो ।

मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बुद्ध एयरका पदाधिकारीसँगको भेटमा मन्त्री रविन्द्र अधिकारीले बुद्ध एयरको उक्त घोषणाप्रति आफू निकै सकारात्मक रहेको र त्यसैअनुरुप नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घोषणा लगायत आवश्यक पूर्वाधार अध्यागमन र भन्सार ६ महिनाभित्र निर्माण गरिसक्ने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच हालै सम्पन्न उडान सहमतिले हवाई मार्ग एल ६२६ लाई दुईतर्फी मार्गमा रुपमा स्थापित गरेको छ । सो सहमतिले टर्बोप्रप एटिआर विमानबाट नेपालगन्जदेखि नयाँ दिल्लीको हवाई उडान करिब एक घण्टा १० मिनेटमा भर्न सकिने छ । नेपालगन्जबाट सिधा नयाँ दिल्ली हवाई उडान सञ्चालनमा आउँदा प्रदेश नं ५, ६ र ७ को आर्थिक समृद्धिमा कायापलट गर्न कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । यसले प्रदेश नं ५ को बाँके, बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश नं ६ को राराताल, प्यूठानको स्वर्गद्वारी तथा डोटीको खप्तडलगायत क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ ।

नेपालगन्ज–नयाँ दिल्ली–नेपालगन्ज अन्तर–सीमा उडान यथाशीघ्र सञ्चालन गर्न प्रतिबद्ध बुद्ध एयरले दैनिक नेपालगन्ज–पोखरा–नेपालगन्जको पनि उडान सञ्चालनको तयारी गर्नेछ । नेपालगन्जबाट नयाँ दिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तरांष्ट्रिय उडान भर्ने योजना बुद्ध एयरले बनाएको छ ।

Womui
Womui