रोजगारीमा गएका नेपाली किन पर्छन् विदेशी जेलमा ? ५ सय बढीलाई उद्धार गर्नुपर्ने

245

छिनछिन खबर
काठमाडौं, असार ११ । नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकमा ५ सयभन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन् । मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा पुगेका नेपाली जेल परेका हुन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार तीमध्ये ९७ महिला छन् ।

विदेशका कुन जेलमा कति नेपाली छन् भन्ने विवरण भने सरकारले संकलन गर्न सकेको छै । विभिन्न संघसंस्थाले १ हजार २ सयभन्दा बढी नेपाली कामदार विदेशको जेलमा परेको बताउँदै आएका छन् ।रोजगारीमा गएका कतिपय कामदार सम्बन्धित देशको भाषासम्बन्धी ज्ञान नहुँदा जेल पर्ने गरेको बोर्डका निर्देशक धीरकुमार श्रेष्ठले बताए । ‘आफू जाने देशको विषयमा पूर्ण जानकार नहुँदा त्यहाँ पुगेपछि कतिपय नेपाली समस्यामा पर्ने गरेका छन्,’ निर्देशक श्रेष्ठले भने, ‘भाषा र सूचनाको अभावमा पनि उनीलाई निकै समस्या छ ।’

हत्या, बलात्कार, लागूऔषध कारोबार, झैझगडा, चोरी अभियोग, रोजगारदाता देशको कानुन उल्लंघन लगायत गम्भीर अभियोगमा नेपाली कामदार जेलजीवन बिताइरहेका छन् । तीमध्ये केहीलाई मृत्युदण्डको सजायसमेत सुनाइएको छ भने केही ब्लडमनी तिर्न नसकेर जेलमा छन् । कतिपय जेलमा परेका कामदारलाई जन्मकैदको सजाय पनि सुनाइएको छ ।

कूटनीतिक नियोगको कमजोरी
पर्याप्त कानुनी परामर्श पाउन नसक्दा पनि नेपालीहरु जेल पर्नु परेको छ । विदेशमा रहेका नेपाली कूटनीतिक नियोगका कर्मचारीहरु नै सम्बन्धित देशको भाषा र कानुनका विषयमा पूर्ण जानकार छैनन् । त्यहाँका नियोगले समेत कुन कारणले कुन जेलमा नेपाली परे भनेर तथ्यांक संकलन गर्न सकेको छैन ।

रोजगारीमा गएका कतिपय कामदार करार अवधि सकिएपछि पनि स्वदेश नफर्किंदा जेलमा पुग्ने गरेका छन् । मलेसिया, युएई र कतारमा धेरै करार अवधि सकिए पनि उतै बस्नेको संख्या निकै रहेको छ । मलेसियामा ८० हजारभन्दा बढी रोजगारीमा गएका नेपाली अवैध ढंगले काम गरिरहेको सरकारी अनुमान छ । कतार र युएईमा पनि सोही हाराहारीमा अवैध ढंगले काम गर्दै बस्ने नेपालीको संख्या रहेको छ ।

Womui
Womui