सुशील कोइराला क्यान्सर अस्पताल सोमबारदेखि सञ्चालनमा

115

नेपालगन्ज, असार १० । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले असार ११ गते सोमबारदेखि बहिरंग (ओपिडी) सेवा सुरु गर्ने भएको छ ।

ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ११ गते सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको जानकारी दिए ।
सरकारबाट १ सय शय्याको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ शय्याबाट सेवा प्रारम्भ गर्ने जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार अस्पताल निर्माणमा अहिलेसम्म ३५ करोड रुपैयाँ खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले अस्पताल सञ्चालनका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो अस्पतालको सेवा प्रारम्भ भएपछि प्रदेश ५, ७ र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज तथा सस्तो हुने बताइएको छ ।
रासस

Womui
Womui