यी हुन् पब्लिकमा जान बाध्य कम्पनी

261

मालती ओली
काठमाडौं, असार ९ । बजेटमार्फत सरकारले १ अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएका उत्पादनमूलक कम्पनी अनिवार्य पब्लिकमा जानुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै करिब दुई दर्जन कम्पनीलाई अब पब्लिकमा जानुपर्ने बाध्यता भएको छ ।यसरी बाध्य भएकामा सूर्य नेपाल, जगदम्बा स्टिल, अम्बे सिमेन्टसहितका ठूला कम्पनी छन् ।

पब्लिकमा गइसकेपछि त्यस्ता कम्पनीले सर्वसाधारणलाई कम्तीमा १० प्रतिशत प्राथमिक सेयर जारी गर्नुपर्ने छ । यद्यपि पछिल्लो समय धितोपत्र बोर्डले प्रिमियर मूल्य थपेर पनि उत्पादनमूलक कम्पनीले आइपिओ जारी गर्न सक्ने व्यवस्था गरेकाले अंकित मूल्य १ सयमै सेयर जारी गर्नुपर्ने बाध्यता उनीहरूलाई छैन ।

कम्पनी रजिष्ट्रार कार्यालयमा १ अर्बभन्दा बढी चुक्ता पूँजी भइ दर्ता भएका प्राइभेट कम्पनीको संख्या ४९ छ । तीमध्ये आधा बढी सेवामूलक छन् । ती सेवामूलकलाई पब्लिकमा जानुपर्ने बाध्यता छैन ।प्राइभेटका रूपमा दर्ता भएका ठूला उत्पादनमूलक कम्पनीमा अधिकांश सिमेन्ट तथा डण्डी उत्पादक र जलविद्युत उत्पादन कम्पनीहरू छन् ।

जलविद्युत कम्पनीहरूलाई पनि पब्लिकमा जानुपर्ने अनिवार्य व्यवस्था छैन । प्राकृतिक स्रोत साधनको परिचालन गरेर सञ्चालन हुनुपर्ने त्यस्ता कम्पनी समेत प्राइभेटका रूपमा दर्ता छन् । बजेटले भने १ अर्ब रुपैयाँमाथिका जलविद्युत् कम्पनीलाई पनि अनिवार्य गरेको धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।

‘जलविद्युत कम्पनीहरू पनि उत्पादनमूलक क्षेत्रमै पर्छन्, अब १ अर्ब बढी चुक्तापूँजी भएका त्यस्ता कम्पनी पनि पब्लिकमा जानुपर्नेछ,’ उनले भने । पब्लिकमा जाँदा समयमै साधारणसभा गर्नुपर्ने, हिसाबकिताब पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने, सम्पत्तिको यथार्थ मूल्याङ्कन गर्नुपर्नेजस्ता चुनौतीका कारण ठूला पूँजी भएका कम्पनी पब्लिकमा जान हिचकिच्याउँदै आएका छन् ।

तर बजेटले गरेको बाध्यकारी व्यवस्थाप्रति उद्योगीहरू सन्तुष्ट देखिँदैनन् । पब्लिकमा जानलाई केही सहुलियतहरू दिएर उत्प्रेरित गर्नुपर्नेमा बाध्यकारी गरिनुले ठूलो लगानीमा उद्योग सञ्चालन गर्न चाहनेको मनोबल खस्किने उनीहरूको भनाइ छ ।१ अर्ब चुक्तापूँजी भएकालाई अनिवार्य गरिए पनि ५० करोड बढी चुक्तापूँजी हुनेलाई भने सरकारले पब्लिकमा गएमा सहुलियत दिएको छ । ५० करोड बढी चुक्तापूँजी भएका कम्पनीलाई पब्लिकमा जाँदा ३ वर्षसम्म आयकरमा १० प्रतिशतका दरले छुट दिने नीति सरकारले ल्याएको छ ।

यी हुन् पब्लिकमा जानुपर्ने १ अर्बमाथि चुक्तापूँजी भएका कम्पनीहरूः
–तुँदी पावर कम्पनी
ललितपुर ३, बागमती
–नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट
काठमाडौं ११, बागमती
–नेसनल हाइड्रोपावर
बुधबारे, धनकुटा, कोसी
–जगदम्बा स्टिल्स
काठमाडौं १, बागमती
–जगदम्बा सेन्थेटिक्स
काठमाडौं १, बागमती
–सोनापुर मिनरल्स एण्ड आयल
काठमाडौं ९, बागमती
–सुर्य नेपाल
काठमाडौं २, बागमती
–घोराही सिमेन्ट इन्डष्ट्री
काठमाडौं ३१, बागमती
–अम्बे स्टिल्स
काठमाडौं १२, बागमती
–पिपुल्स हाइड्रोपावर कम्पनी
काठमाडौं १०, बागमती
–लिबर्टी इनर्जी हाइड्रोपावर
काठमाडौं ११, बागमती
–सिनोहाइड्रो– सगरमाथा पावर कम्पनी
काठमाडौं १३, बागमती
–सर्वोत्तम सिमेन्ट
काठमाडौं ३५, बागमती
–कस्तुरी हाइड्रो एयर
काठमाडौं ३५, बागमती
–अमृत सिमेन्ट नेपाल
काठमाडौं ११, बागमती
–भोटेकोसी पावर कम्पनी
काठमाडौं, बागमती
–जगदम्बा स्पिनिङ मिल्स
काठमाडौं ३५, बागमती
–पिआइए इनर्जी नेपाल
तीनथाना, काठमाडौं, बागमती
–एसजेभिएन अरुण ३ पावर डेभलपमेन्ट
ठिमी, भक्तपुर, बागमती
–ओसिबी फूड्स एण्ड फिड्स
वीरगन्ज ७, नारायणी
–मिथिला सुगर मिल्स
जनकपुर ४, जनकपुर
–तियानी सिमेन्ट इन्डष्ट्रिज
ललितपुर १८, बागमती
–ग्लोबल सिमेन्ट
काठमाडौं ११, काठमाडौं

स्रोतः कम्पनी रजिष्टार कार्यालय

Womui
Womui