नेपाल–चीन संयुक्त वक्तव्यः रेलमार्ग सम्झौता ज्यादै अर्थपूर्ण

115

बेइजिङ, असार ८ । केरुङ–काठमाडौँ रेलमार्ग निर्मार्णको सम्झौतालाई नेपाल र चीनले अर्थपूर्ण भनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुशी व्यक्त गरेका हुन् ।


रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सिमापार सम्पर्क सञ्जालमा नयाँ युगको सन्देशबाहकको काम गर्ने जनाइएको छ । दुवै देशले रेलमार्ग सहकार्यबारे दीर्घकालीन संयन्त्र बनाई त्यसबाट असल सञ्चार बढाउने छन् भने चीनले यसका लागि प्रविधि र तालिम उपलब्ध गराउनेछ । चीनको ‘एक क्षेत्र, एक मार्ग’ लाई सघन कार्यान्वयनका लागि हिमालयन सिमापार बहुआयामिक सम्पर्क सञ्जालको कार्यढाँचाअन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई व्यापक बनाउन दुई देश सहमत भएका हुन् ।

नेपालले पूर्वाधार र उत्पादनका क्षेत्रमा थप चिनियाँ लगानी भित्र्याउन र लगानीमैत्री वातावरणका लागि आवश्यक कानून, नीति र करसम्बन्धी दायरालाई अनुकूल बनाउन तयार रहेको चीनलाई अवगत गराएको वक्तव्यमा जनाइएको छ । दुवै मुुलुकले चिनियाँ र नेपाली विमान सञ्चालकलाई सिधा हवाई सम्पर्कका लागि प्रोत्साहन गर्न पनि सहमति जनाएका छन् । दुुवै पक्षले सिमापार अप्टिकल फाइबर केवल सफलताका साथ व्यावसायिक सञ्चालनमा आएकोमा सन्तोष व्यक्त गर्दै सहकार्य, सूचना र सञ्चारलाई परस्पर लाभका लागि थप सवलीकरण गर्ने जनाएका छन् ।

संयुक्त विज्ञप्तिमा अन्तरदेशिय प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु गर्ने उल्लेख गर्दै सो कार्यको सम्भाव्यता अध्ययनका लागि चिनियाँ लगानीकर्ता समेत उत्साहित भएको उल्लेख गरिएको छ । चीनले नेपालको सामाजिक प्रणाली र विकासको मार्गमा अपनाउने स्वतन्त्र निर्णय र नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्थिरताको लागि आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ ।

रासस

Womui
Womui