चिनियाँ रेल चाँडै काठमाडौं पुग्नेमा विश्वस्त छुः सी

45

बेइजिङ असार ६ (रासस) । चीन भ्रमणको दोस्रो दिन बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी ओलीले नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा सानो प्रतिनिधिमण्डलसहित छुट्टै भेटवार्ता भएको थियो । भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए ।
चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेल केरुङ हुँदै चाँडै काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएको मन्त्री ज्ञवालीले खुलाए ।

‘नेपालको प्राथमिकता अनुसार सहयोग गर्न चीन तयार छ’, राष्ट्रपति सीलाई उद्धृत गरेपछि मन्त्री ज्ञवालीले थपे, ‘हाम्रा महत्वपूर्ण पूर्वाधार रेलमार्ग नै नै हो, चीनको अनुदान र हाम्रो आफ्नो समेत लगानीमा हामी क्रस बोर्डर रेलमार्ग बनाउन चाहन्छौं । चीनका राष्ट्रपति सीले अधिकारीहरूलाई केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन अध्ययन छिटो सक्न निर्देशन दिइसकेको बताएको मन्त्री ज्ञवालीले सञ्चारकर्मीसँग बताए । नेपालको विकास र समृद्धिमा चीनको तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै सीले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा राखेका छन् ।राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण गरे ।

Womui
Womui