प्रधानमन्त्री ओलीका चीन भ्रमणको कार्यसूची तयार, यी हुन् मुख्य एजेन्डा

160

काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका कार्यसूची तय गरिएका छन् ।
प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रीत रहनेमा जोड दिइएको छ । यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने प्रायः पक्का भएको छ ।

भ्रमणका क्रममा चीनका उच्च राजनीतिक नेतृत्वसँग हुने राजनीतिक परामर्श र दुई देशका प्रधानमन्त्री नेतृत्वमा हुने प्रतिनिधि मण्डलस्तरीय वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । प्रधानमन्त्रीको भ्रमणका बेला चीनको स्वशासित क्षेत्र (तिब्बत) का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठ वटा सीमा नाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनाका साथै केरुङ–काठमाडौं रेल मार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

त्यसैगरी नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा साझेदारी र सात वटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । भुइँचालोपछिको नेपालको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने १६ अर्ब चिनियाँ युआन एक हजार मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना, समुद्री बन्दरगाह र सुक्खा बन्दरगाहको प्रयोग, सहज एवं सर्वसुलभ सूचना तथा सञ्चार प्रवाहका निम्ति अप्टिकल फाइबर बिछ्याउनेलगायत नेपालको राष्ट्रिय हित र स्वार्थका परियोजनामा पारस्परिक सहयोगको सम्झौता हुनेछ ।
तिब्बतबाट खाद्यान्न ढुवानी गर्ने तथा नेपालबाट तिब्बततर्फ मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति बझाङको उरिपासमा दुई, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापासमा दुईवटा र हुम्लाको हिल्सामा एक व्यापार नाका खुल्नेछन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो मंगोलिया भ्रमण, अन्तर्र्रािष्ट्रय, क्षेत्रीय एवं राष्ट्रिय कूटनीतिक क्षेत्रमा भएका पछिल्ला विकासक्रम एवम् समसामयिक स्थिति तथा प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिँदै भने, ‘व्यापार तथा पारवहनका साथै स्वतन्त्र व्यापार क्षेत्रका विषयमा द्विपक्षीय छलफल जारी छ निकट भविष्यमा नै निष्कर्षमा पुगिनेछ ।’

चीनका राष्ट्रपतिले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ)’ अन्तर्गतका परियोजना, तिनको निर्माण तथा लगानीको ढाँचाबारे पनि वृहत् रुपमा दुवै मुलुकबीच छलफल भइरहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले नेपालको राष्ट्रिय आवश्यकताका परियोजना नै बिआरआइ अन्तर्गत निर्माण गरिने बताए ।
रासस

Womui
Womui