चार जोडीको विवाहमा रोक

166

रुकुम, जेठ २८ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चार जोडीको विवाह रोकिएको छ । उमेर नपुगी गर्न लागिएका चारवटै जोडीको विवाह जिल्ला बाल सञ्जालले रोकेको हो ।


चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवकका बीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल सञ्जाल संरक्षण समितिको अध्यक्ष मनमोहन शाहले जानकारी दिए ।

यस्तै, वडा नं १४ का १८ वर्षीय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह तथा चौरजहारी नगरपालिका– १० का किशोर किशोरीका बीच हुन लागेको विवाह समेत बाल सञ्जालले रोकेर उनीहरुका आफन्तका जिम्मा लगाइएको छ ।

यसैगरी, वडा नं– १३ का १७ वर्षीय युवक र १७ वर्षकै युवतीका बीचको विवाह समेत बाल सञ्जालले रोकेको शाहले बताए । उनीहरुले उमेर नपुगेर गरेकोले वडा कार्यालयको रोहवरमा विवाह रोकेर आफन्तको जिम्मा लगाइएको हो ।  ’नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि बाल सञ्जाललाई सक्रिय पारेका छौँ,’ शाहले भने ।
रासस

Womui
Womui