कुलेखानी दोस्रो जलविद्युत्को उत्पादन बन्द

44

छिनछिन खबर
काठमाडौं, जेठ २७ । कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिटको जेनेरेटरमा समस्या आएपछि १६ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’ मा समस्या देखिएपछि १६ मेगावाट विद्युत उत्पादन बन्द भएको हो । स्टेटर वाइन्डिङ’ को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ । कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।

कुलेखानी पहिलोबाट विद्युत उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत गृह सञ्चालन हुन्छ । कुलेखानीलाई अन्य विद्युत केन्द्रजस्तो २४ सै घण्टा चलाइंदैन । विद्युतको माग बढेका वेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०÷३० मेगावाटका दुईवटा र दोस्रोमा १६÷१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत गृहका एउटा÷एउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।

बर्खा लागेसँगै खोला तथा नदीमा पानीको वहाव बढेकाले नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत पिक समयको विद्युत माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई लोडसेडिङ गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो विद्युत केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएको बताए ।

केन्द्रका प्रमुख आभाष ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिक सोमबार आइपुग्ने जानकारी दिए । त्यसपछि मात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने उनले बताए । ‘हाम्रो अध्ययबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ’,उनले भने,‘मर्मत छिट्टो सक्ने प्रयास गरिरहेका छौं ।’

Womui
Womui