प्रदेश सरकारको प्राथमिकतामा उद्यम विकास

150

बुटवल, जेठ २५-
गरिबी निवारणका लागि प्रदेश नम्बर पाँचले लघु उद्यम विकासलाई प्राथमिकतामा राखेको छ । लघु उद्यम विकासका लागि प्रदेश नीति आइसकेको छ । बुटवलमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले भने, हामीले मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम घोषणा गरेका छौं, लघु उद्यम सम्बन्धी बजेट छिट्टै विनियोजन गर्नेछौ ।’

प्रादेशिक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुटवलमा लघु उद्यम विकास मोडल सम्बन्धी प्रदेशका निर्वाचित प्रतिनिधिका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले उक्त जानकारी दिएका हुन् । ‘लघु उद्यमीका उत्पादनको बजार व्यवस्थापन अहिलेको आवश्यकता हो,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश ५ मा आउने पाहुनाका लागि उपहार पनि स्थानीय उत्पादन हुनेछ ।’ उनले प्रदेश सभाको पोशाक तय हुदैं गरेको र उघु उद्यमीले उत्पादन गरेको अल्लोको कोट प्रस्ताव गरिएको समेत जानकारी दिए । कार्यक्रममा बोल्ने जनप्रतिनिधिले प्रदेश स्तरमा उद्योग सम्बन्धी काम गर्न प्रष्ट कानूनको आवश्यकता समेत औंल्याएका थिए । वक्ताहरुले सबै निकायसँग समन्वय गरेर अघि बढे गरिबी निवारण सम्भव भएको बताए ।

लघु उद्यम विकास कार्यक्रम (मेडेप) का राष्टिय कार्यक्रम प्रबन्धक डाक्टर रामजी न्यौपानेले गरिबी निवारणका लागि लघु उद्यम विकास मोडेलको विकल्प नरहेको बताए । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव विनोदप्रकाश सिंहले एक कार्यपत्र प्रस्तुत गर्दै सरकारको प्राथमिकतामा उद्यमशिलता विकास रहेको जानकारी दिए । उनले आगामी आर्थिक बर्षमा सरकारले ७७ वटै जिल्लामा लघु उद्यम विकास कार्यक्रम गर्न १ अरव रुपैयाँ बढी बजेट विनियोजन गरेको बताए । प्रादेशिक उद्योग मन्त्री लिला गिरिको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न मन्त्री तथा सांसदले आफ्ना बिचारहरु राखेका थिए ।

कार्यक्रममा प्रदेशका ३० बढी उद्यमीले उत्पादन गरेका सामग्री समेत प्रर्दशनमा राखिएको थियो । ‘गाउँमा उत्पादन भएका थारु हस्तकला मुख्यमन्त्रीले मन पराइदिनु भएकोमा खुशीको सिमा छैन,’ बाँकेकी सुमित्रा चौधरीले भनिन्, ‘यस्तो हस्तकलाको उद्यम सुरु गरेर थारु परम्पराको संरक्षण गर्न थप हौसला मिलेको छ ।’ अवलोकन गर्दै कृषिमन्त्री आरती पौडेलले भनिन्, ‘लघु उद्यममा महिलाको उल्लेख्य सहभागिता पाइएको छ, यसले महिलाको आय आर्जनमा सहभागिता मात्र बढाएको छैन, उनीलाई सशक्त समेत गरेको छ ।’

 

Womui
Womui