‘नेपालगन्ज–दिल्ली उडान गर्न हामी तयार छौं’ : बुद्ध एअर

59

नेपालगन्ज, जेठ २१-
बुद्ध एअरले नेपालगन्जबाट भारतको दिल्लीका लागि हवाई उडानको प्रक्रिया सुरु गरेको छ । उडान अनुमतिका लागि केहीदिन अघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आवेदन दिईसकेको बुद्धले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बुद्ध एअरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले नेपालगन्ज–दिल्ली उडानले पश्चिम नेपालको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताउँदै नेपाल सरकारले उडानका लागि आवश्यक पर्ने कुरा पुरा समयमै पुरा गर्नुपर्ने धारणा राखे ।

नेपालगन्ज बिमानस्थलमा अन्र्तराष्ट्रिय टर्मिनल भवन, भन्सार र अध्यागमन कार्यालय स्थापनाको काम समयमै सम्पन्न भएमा अबको ७/८ महिनाभित्रै उडान गर्न सम्भव भएको उनले बताए । ‘चाडो भन्दा चाडो नेपालगन्ज-दिल्ली उडान भर्न हामी एकदमै तयार छौं,’ बस्नेतले भने ‘नेपालगन्ज बिमानस्थलमा पुर्वाधार निर्माणका लागि नेपाल सरकारले समयमै काम थाल्नु पर्यो र यसक्षेत्रका बासिन्दाले पनि अपनत्व लिनुपर्यो ।’ नेपाल सरकारले भारतसँग कुटनीतिक पहल मार्फत छोटो रुटको अनुमति दिलाउनुपर्ने बताए ।

उनका अनुसार बुद्ध एअरले अहिले सञ्चालन गरिरहेको एटिआर ७२ को जहाजमार्फत नेपालगन्जबाट दैनिक ३ वटा उडान गर्नेछ । बिहान ७ बजे, दिउँसो १ बजे र बेलुका ७ बजे नेपालगन्ज–दिल्ली उडान गर्ने योजना रहेको बस्नेतले जानकारी दिए । पत्रकार सम्मेलनमा उपस्थित भएका पुर्वमन्त्री एवम् बर्दिया क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सांसद संजय गौतमले नेपालगन्ज-दिल्ली उडान नियमित भए पर्यटकिय क्षेत्रमा ठूलो टेवा पुग्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणाले बुद्ध एअरको यो कदमको स्वागत गर्दै नेपालगन्जबासीले पूर्णरुपमा साथ दिने विश्वास दिलाए । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कनोडियाले नेपालगन्ज–दिल्ली उडानले यसक्षेत्रको पर्यटन प्रर्बद्धन मात्र नभएर नेपालगन्ज शैक्षिक, मेडिकल क्षेत्रलाई पनि महत्वपुर्ण टेवा पुग्ने बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बुद्धको उडान सुरु भए पश्चिम नेपालको आर्थिक अवस्थाले फड्को मार्ने विश्वास व्यक्त गरे ।

Womui
Womui