आदेश दिएको एक वर्षपछि ऐश्वर्यलाई नागरिकता

217

नेपालगन्ज, जेठ १३-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी ऐश्वर्य राईले अदालतको आदेश बमोजिम नागरिकता प्राप्त गरेकी छन् । अदालतले नागरिकता प्रदान गर्न आदेश दिएपनि उनलाई जिल्ला प्रशासन कार्यालय बाँकेले यसअघि पटक–पटक विभिन्न आलटाल गर्दै आएको थियो । एक महिनाभित्र नागरिकता दिनु भनी अदालतले गरेको फैसलाको एक वर्षपछि आइतबार प्रशासन कार्यालयले ऐश्वर्यलार्ई बंशजको आधारमा नेपाली नागरिकता प्रदान गरेको हो ।

२०५३ असोज १२ गते नेपालगन्जमा पिता रणबहादुर र आमा निर्मला राईको सम्बन्धबाट उनको जन्म भएको थियो । उनले नेपालगन्जमा नै अध्ययन गरी उच्च शिक्षा अध्ययन गर्दैछिन् । ऐश्वर्य जन्मेको जन्मदर्ता प्रमाणपत्र र अध्ययन गरेको शैक्षिक प्रमाणपत्र समेत रहेको छ । बुबाको नेपालगन्जमा नै निधन भएको थियो । आमा निर्मलाले २०६३ फागुन १० गते जन्मको आधारमा नेपाली नागरिकता लिएकी थिईन् ।

बुबाले नेपाली नागरिकता नलिदै निधन भईसकेको र आमाले जन्मसिद्ध नागरिकता लिएकोले नेपाली नागरिकता नपाउने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता दिन इन्कार गर्ने गरेको थियो । आफु नेपाली नागरिकको सन्तान भएको र संविधान तथा कानून बमोजिम नागरिकता लिन योग्य भएको अवस्थामा समेत जिल्ला प्रशासनले नागरिकता दिन इन्कार गरेको भन्दै बंशजको आधारमा नेपाली नागरिकता दिनुपर्ने माग सहित तुलसीपुर उच्च अदालत नेपालगन्ज ईजलास समक्ष २०७४ बैशाख १० गते परमादेशको रिट दायर गरेकी थिईन् ।

उक्त मुद्दामा निवेदकको नागरिकताको प्रमाणपत्र प्राप्तिको विषय संवेदनशील भएको र निवेदक देशको उर्वर जनशक्तिको व्यक्तित्व विकास, शिक्षा, रोजगारी समेतको अवसर समेतलाई दृष्टिगत गरी निवेदकलाई अविलम्व नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन अदालतले आदेश दिएको थियो ।

Womui
Womui