व्यवधान चिर्दै नेपालगन्ज गोल्ड कपले पायो पूर्णता

36

रमण ओली
नेपालगन्ज, वैशाख १३


नेपालगन्ज गोल्ड कपको तेस्रो संस्करण विभिन्न व्यवधान चिर्दै संचालनमा आउने भएको छ । जेठ २१ देखि २८ गतेसम्म खजुरा गाउँपालिकास्थित नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालय डीगाउँको खेल मैदानमा खेल संचालन हुँदैछ । नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै प्राविधिक कारणले गत चैतमा नेपालगन्ज रंगशालामा गर्ने भनिएको प्रतियोगिताको तेस्रो संस्करण खजुरामा हुन लागेको हो ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रको प्रतिष्ठित प्रतियोगिता टुबोर्ग तेस्रो नेपालगन्ज गोल्ड कप प्रतियोगितामा नेपाल र भारतका ८ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ, संकटा, च्यासल फुटबल क्लब, लाली रुपन्देही–११, सुदूरपश्चिम–११, भारतको पन्जाव–११ र आयोजक नेपालगन्ज–११ ले भाग लिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी गराए ।
लिग कमनकआउटका आधारमा खेलाइने प्रतियोगिता विजेताले ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउने छन् भने विधागत रूपमा उत्कृष्ट स्ट्राइकर, गोलकिपर, मिडफिल्ड, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले एक थान मोबाइल सेट प्राप्त गर्नेछन् ।
विभिन्न व्यवधानबीच सुरु भइरहेको प्रतियोगिता अवधिभर करिब ७५ लाख रुपैयाँ खर्च हुने र प्रतियोगिताको तयारीको काम ७५ प्रतिशतले सम्पन्न भइसकेकोे आयोजक बाँके जिल्ला फुटबल संघले आइतबार पत्रकारसम्मेलन मार्फत जानकारी गरायो ।
प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियलहरुको खेल अवधिभर एनएलजी इन्सोरेन्सबाट विमासमेत गरिएको छ । प्रतियोगिताको खेल हेर्नको लागि फाइनलमा १ सय रुपैयाँ र अन्य खेलमा ५० रुपैयाँका दरले टिकट दर कायम गरिएको छ । प्रतियोगिताको टिकट दर कायम गरिएपनि टिकटमा भने स्वविवेकको नीति लिइएको संघका अध्यक्ष भोजराज शाहीले जानकारी गराए ।
‘ फुटबल खेलप्रति माया एवम् सहानुभूति हुने दर्शकले तोकिएको टिकट रकम दिने विश्वास संघले लिएको छ,’ शाहीले भने,‘ किनेर प्रतियोगिता हेर्छ त्यसलाई हामीले सहयोगको रुपमा स्वीकार गर्छौ, तर जसले टिकट किन्न सक्दैन उसलाई प्रतियोगिता हेर्नबाट वञ्चित गरिने छैन ।’  प्रतियोगिता हरेक दिन साझ ५ बजेदेखि सुरु हुने छ।
प्रतियोगितालाई सफल बनाउन टुबोर्गले मुख्य प्रायोजन गरेको छ भने रेडबुल, रुस्लान, प्रिति चाउचाउ, नेपालगन्ज उपमहानगरपालिका र अखिल नेपाल फुटबल संघ(एन्फा)ले सहयोग गरेको छ । यसअघि भएको पहिलो गोल्डकपमा सुदुर पश्चिम ११ र दोस्रो गोल्डकपमा रुपन्देही ११ ले उपाधि हात पारेका थिए।
एन्फाका केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, टुबोर्गका क्षेत्रीय प्रवन्धक योगेन्द्र भट्ट, खेलकुदका अगुवाहरु गोवर्द्धन सिंह सम्झना, निजामुद्दिन सिद्धिकी, खजुराका वडाध्यक्ष एवं न्यूँ डाँफे क्लवका अध्यक्ष तिलकबीर सुनार, खेलकुद पत्रकार मञ्चका जयनारायण शाहलगायतको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो ।

Womui
Womui