राष्ट्रकवि माधव घिमिरेको दिल्लीमा उपचार हुँदै, स्वास्थ्य अवस्था सुधार उन्मुख

255

छिनछिन खबर
काठमाडौं, जेठ १२ । राष्ट्रकवि माधव घिमिरे यतिबेला दिल्लीको मेदान्त अस्पतालमा उपचारको क्रममा छन् । उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको परिवारले बताएको छ । बहुमुखी प्रतिभाका धनी घिमिरे अहिले ९९ वर्षका छन् । आउँदो असोजमा उनी १०० वर्षमा प्रवेश गर्दे छन् । घिमिरेले बाल कविताका साथै थुप्रै कविता, खण्डकाव्य, गीतिनाटक, निबन्ध सिर्जना गरेका छन् । उनले लेखेका कविताहरू मानिसको मनलाई ब्युँझाउने खालका हुन्छन् ।

माधव घिमिरे नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, निबन्धको रचना गरेका छन् । उनका कृतिहरू सानो कक्षा देखि लिएर माथिल्लो स्तरको पाठ्यक्रममा पनि समावेश गरिएको छ । उनका बालकबिता सङ्ग्रह ‘घामपानी’ (२०१०), ‘बाललहरी’ (२०६६), ‘सुनपङ्खी चरी’ ( बालगीतसङ्ग्रह, २०५र्३), गीतसङ्ग्रह ‘किन्नर किन्नरी’ (२०३३) खण्डकाव्यमा ‘पापिनी आमा’ (२०१२), ‘नयाँ नेपाल’ (२०१३), ‘गौरी’ (२०१५), ‘राजेश्वरी’ (२०१७), ‘धर्तीमाता’ (२०३०), ‘राष्ट्रनिर्माता’ (२०२३), गीतिनाटक ‘शकुन्तला’ (२०२२), ‘मालतीमङ्गले (२०३५), ‘विषकन्या’ (२०५०), ‘देउकी’ (२०५०), ‘अश्वत्थामा’ (२०५३), ‘हिमालवारी हिमालपारी’ (२०५४) ,‘बालकुमारी’(२०६१) निबन्ध ‘आफ्नै गीत आफ्नै बाँसुरी,’ ‘चारू चर्चा’ माधव घिमिरे प्रमुखतः नेपाली साहित्यका कवि व्यक्तित्व नै हुन् । यिनी नेपाली साहित्यमा कवि गीतकार र गीतिनाटककारका रूपमा सुपरिचित छन् । यिनको व्यक्तित्व र गीतिचेत परस्पर समवद्ध देखिन्छ भने पछिल्ला समयमा यिनी नेपाली गीतिनाटकका क्षेत्रमा अजय प्रतिभाका रूपमा उदय भएका छन् । यिनले नेपाली साहित्यमा दिएको योगदान कसैसँग तुलना गर्न सकिँदैन । १५ वर्षको उमेरमा शुरू गरेको लेखनयात्रा अहिले सम्म जारी नै छ ।

 

 

हामी र हामीभन्दा पहिलाको पुस्ताले माधव घिमिरेले लेखेको राष्ट्रिय गीत गाएको हो । आज पनि उनको यो गीत उत्तिकै लोकप्रिय छ ।
‘गाउँछ गीत नेपाली, ज्योतीको पङ्ख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल
गण्डकी कोशी कर्णली, मेचाी र महाकाली
लेक र बेसी ब्युँझाउँछन लहर लाखौं उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली

यस गीतले नेपाली राष्ट्रियताका विविध पक्षलाई अत्यन्त ओजस्वी रूपमा प्रस्तुत गरेको छ । त्यसैले जहिले जतिखेर सुन्दा पनि यसले हाम्रो मन र मस्तिष्कमा अत्यन्त विशिष्ट प्रभाव पार्छ । गीतकारका रूपमा पनि उनी अद्वितीय छन् । स्वरकिन्नरी तारादेवीले गाएको मनको बाँधको यो गीत कहिले पुरानो हुँदैन ।

‘फूलको थुँगा बगेर गयो गङ्गाको पानीमा
कहिले भेट होला हे राजै यो जिन्दगानीमा

अनि स्वरसम्राट नारायणगोपालको आवाजले अझ मर्मस्पर्शी बनाएको यो गीत पनि उत्तिकै बेजोड छः

‘आजै र राति के देखेँ सपना मै मरी गएको
उनले बालकविताका क्षेत्रमा कलम चलाउन थालेका बेला यो क्षेत्र शुरूको अवस्थामै थियो । तर शुरूमै घिमिरेजस्ता प्रतिभाका कारण नेपाली बालकविता क्षेत्र एउटा उचाइ प्राप्त गर्न सफल भयो । उनले वि.सं.२००५ सालमा स्कुलमा प्रधानाध्यापक भएको बेलादेखि नै बालकविता लेखनलाई निरन्तरता दिए । उनी बालबालिकाको रुचि, उनीहरूको मनोविज्ञान बुझेर कविता लेख्छन् । साथै बाल र लोकभाषाको प्रयोग अनि मनोरञ्जनलाई पनि ध्यान दिनाले ती बालप्रिय हुन पुगेका छन् ।

बालबालिकाको संसारलाई बुझेर त्यसलाई आफ्नो सिर्जनामा प्रस्तुत गर्नसक्ने खुबी उनको महत्वपूर्ण विशेषता हो । विषयवस्तुका दृष्टिले पनि उनका बालगीत तथा कविताहरू विविधतापूर्ण छन् । पुतलीखेल शीर्षकको निम्न कवितांशले कविको बालअनुभूति र काव्यशैलीलाई स्पष्ट पार्छः

‘टालाटुली बटुली
कति राम्री पुतली
सानी पनि छैन रे
ठूली पनि हैन रे
जीउ सुत्त परेकी, पहेँली र पातली
कति राम्री पुतली
लाइद्यूँ कि बुलाकी
टिकी राम्रो होला कि
कोरिबाटी चुलठी, आँखा दुवै गाजली
कति राम्री पुतली ’

उनका बालकवितामा बालसंसारका पशुपक्षी, घामपानी, जूनतारा, पुतलीखेल आदिलाई विषय बनाएको पाइन्छ । कविहरू प्रकृतिका उपासक हुनुका साथै प्रकृतिको सौन्दर्य, भूबनोट र रूपरङ्गप्रति आसक्त पनि हुन्छन् । कवि घिमिरे पनि यसका अपवाद छ्रैनन् । उनी आफ्ना बालकवितामा प्रकृतिको सौन्दर्य, भूबनोट र रूपरङलाई विशिष्टतासहित प्रस्तुत गर्न अत्यन्त कुशल देखिन्छन् । उनका कतिपय कवितामा राष्ट्रपे्रमका भावना पोखिएका छन् भने केही कवितामा हाम्रो संस्कृति शब्दबद्ध भएका छन् । यस प्रकार कवि घिमिरेले बालकवितामा विषयवस्तुको विविधतासँगसँगै त्यसलाई रोचक र सम्प्रेषणीय बनाउन नेपाली लोकलय र झर्रा शब्दहरूको प्रशस्त प्रयोग गरेका छन् ।
त्यस्तै गरी अस्वत्थामा गीति नाटकमा
म युद्ध अपराधी हुँ कसरी कहूँ
कहिल्यै नसकिने पीडा सहुँ हे, कसरी सहुँ
मैले आवेशमा आई छोडें आग्नेय अस्त्र जो
एउटै अस्त्रले ओहो प्रण हर्न सहस्रको
त्यै अग्निवान फर्केर आगो लागिरहेछु म
अहे हैन अरूदेखि, मैदेखि भागिरै’ छु म

Womui
Womui