यसरी लिँदैछ काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणले तीव्रता

144

छिनछिन खबर
काठमाडौं, जेठ ८ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी लिएपछि निर्माण कार्यले तीव्रता लिएको छ । द्रुतमार्ग निर्माणको जिम्मा सरकारले अघिल्लो वर्षको वैशाख २१ गते सेनालाई दिने निर्णय गरेको थियो ।


निर्माण कार्यको जिम्मा पाएलगत्तै फिल्डमा खटिएको सेनाले विभिन्न व्यवस्थापनका काम सक्दै टेण्डर प्रक्रिया सुरु गरिसकेको जनसम्पर्क निर्देशनालयका निर्देशक सहायक रथी गोकुल भण्डारीले बताए । भण्डारीका अनुसार एक महिना अघि नै दु्रतमार्ग निर्माणका लागि आठ वटा टेण्डर स्वीकृत भइसकेका छन् भने थप १४ वटा स्वीकृतिको अन्तिम चरणमा छन् ।

सेनाले यसअघि दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) पनि आफैंले तयार गर्ने निर्णय गरिसकेको छ । त्यसअघि द्रुतमार्ग निर्माणमा भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डिपिआर प्रयोग गरिने प्रयास भइरहेको थियो । जुन प्रतिवेदनलाई करिब ५६ करोड रुपैयाँमा बिक्री गर्ने भारतीय कम्पनीको कसरत थियो । दु्रतमार्ग निर्माणको जिम्मा पाएको सेनाले नै डिपिआर तयार गर्ने निर्णय गरेपछि निर्माण कार्यमा अझै सहजता हुने अपेक्षा गरिएको छ । जसले निर्माण कार्य गर्ने हो उसैले डिपिआर तयार पार्दा आयोजनाका सबल र दुर्बल पक्ष थाहा हुने भएकाले काम समयमै सक्न सहज हुने अपेक्षा गरिएको हो ।

सरकारले अबको चार वर्षभित्र दु्रतमार्ग सम्पन्न गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार सेनाले कामलाई तीव्रता दिने बताएको छ । काठमाडौंलाई तराईं–मधेससँग जोड्न सरकारले सन् १९७४ देखि नै दु्रतमार्ग निर्माण गर्ने योजना बनाएको थियो । तर, दु्रतमार्ग कसले बनाउने भन्नेबारे पटकपटक विवाद हुँदा निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
करिब एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको दु्रतमार्ग निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले दु्रतमार्गलाई राष्ट्रिय गौरवको आयोजना भन्दै आए पनि हालसम्मको भौतिक र वित्तीय प्रगति भने निराशाजनक छ ।
काठमाडौंदेखि बाराको निजगढसम्म दु्रतमार्गको ७६ किलोमिटर ट्र्याक भने नेपाली सेनाले यस अघि नै खोलिसकेको छ । दु्रतमार्गमा ९९ वटा साना÷ठूला पुल बनाउनु र एक हजार ३७ मिटर सुरुङ खन्नुलाई सर्वाधिक कठिन कामको रूपमा लिइएको छ । सरकारले निर्माणको जिम्मा दिएलगत्तै सेनाले दु्रतमार्गमा बेस क्याम्प स्थापनादेखि निर्माणका अन्य प्रारम्भिक काम थालिसकेको छ । सहायक रथी भण्डारीले दु्रतमार्गका विभिन्न स्थानमा चार वटा अस्थायीसहित नौ स्थानमा बेस क्याम्प खडा गरिसकेको जनाए ।

सडक निर्माणका लागि सेनाले आठ सय ५० जवानलाई फिल्डमा खटाएको छ । त्यस्तै मकवानपुरको लेनडाँडादेखि बुदुनेमा रुख कटान भइरहेको सहायक रथी भण्डारीले बताए । उनले बाराको निजगढदेखि काठमाडौंतिरको ७ किलोमिटर सडकमा माटो पटान भइरहेको जनाए । ट्र्याक निर्माणको लागि सरकारले अहिलेसम्म करिब एक अर्ब ६४ करोड रुपैयाँ निर्माण र मुआब्जा वितरणमा खर्च गरिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

विज्ञहरूले दु्रतमार्गलाई तराईका जनताको लाइफलाइनको रूपमा हेर्ने गरेका छन् । । सेनाले आफूले गर्न सक्ने काम अघि बढाउन र नसक्नेमा परामर्शदाता नियुक्ति, टेन्डर लगायत प्रक्रियाबाट अघि बढाउन सक्नेछ । निर्माणको लागि सेनाले छुट्टै कार्यदल निर्माण गरिसकेको छ ।

Womui
Womui