पर्यटकलाई आकर्षित गर्न ट्याक्सी चालकलाई आतिथ्यता विषयमा तालिम

40

छिनछिन खबर

पोखरा, जेठ १ । पर्यटकहरु पहिला ट्यासी चालकको सम्पर्कमा जाने हुँदा चालकलाई उनीहरु प्रति गरिने व्यवहार र अन्य कुराको जानकारी गराउनको लागि ७० जना ट्याक्सी चालकलाई तालिम दिइएको पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले जानकारी दिए । कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्ड, इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालिम प्रदान गरिएको छ ।

लेखनाथमा धेरै पर्यटकीय स्थल भएकाले चालकलाई ती स्थल बारेको जानकारी हुनु पनि आवश्यक भएको थपलियाले बताए ।

नेपाल पर्यटन बोर्डले लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जानकारी दिँदै थपलियाले बेगनास तालमा पर्यटकलाई लक्षित गरी २५ वटा फलामे बेञ्च राखिएको र यहाँका विभिन्न चार स्थानमा सिसीटिभी क्यामेरा राख्ने तयारी गरिएको बताए । इलाका प्रहरी कार्यालय, डाँडाको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले यस किसिमको तालीमले ट्याक्सी चालकमा पर्यटकसँग गर्ने व्यवहार, पर्यटकीय स्थलबारेको जानकारीलगायतमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

पर्याप्त पर्यटकीय स्थल भएता पनि यिनीहरूको प्रचारप्रसार हुन सकेको छैन । उपयुक्त स्थलको राम्रोसँग व्यवस्था र पहिचान हुनसकेको खण्डमा धेरैपर्यटकको आगमन हुन सक्ने लेखनाथ होटल व्यवसायी संघका अध्यक्ष कृष्ण तिमल्सिनाले बताए ।

लेखनाथ भनेको अति रमणिय सात तालको बगैँचाका रुपमा परिचित शहर हो । लेखनाथका सात तालसहित माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृंखला एवम् पोखराको एकसाथ अवलोकन गर्न सकिने भरतपोखरीका हुँडिकोट, मल्लकालीन कोटभैरव मन्दिर, बेगनासकोट, अर्घौँ अर्चले, कालिकास्थान, सिलिङ्गेलगायतका धेरै पर्यटकीय स्थल आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

Womui
Womui