नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग

45

छिनछिन खबर
काठमाडौं, वैशाख २७ । बाँके र बर्दियाका स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिले नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गरेका छन् ।

संघीय संसद्मा प्रि–बजेट छलफल भइरहेको बेला अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि केही दिनपछि प्रस्तुत हुने बजेटमा रकम विनियोजन गर्न माग गरिएको हो । प्रदेशको राजधानी तोक्ने बेला बाँके र बर्दियालाई अन्याय गरिएजस्तै अबको बजेटमा पनि अन्याय गरिए त्यो मान्य हुन नसक्ने उनीहरूको धारणा छ । दुई जिल्लाको यतिखेरको प्रमुख सरोकार नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्नेमा जनप्रतिनिधि सहमत भएका छन् ।

बाँके र बर्दियाको विकासमा केन्द्रित हुँदै बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणाले जुनसुकै हालतमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि बजेट विनियोजन गरेर सरकारले बाँके र बर्दियालाई न्याय गर्नुपर्ने बताए । पूर्व सिँचाइ मन्त्री तथा बर्दियाबाट निर्वाचित सांसद सञ्जय गौतमले नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भने बाँके र बर्दियाको पर्यटन क्षेत्रको विकास हुने बताए । उनले बर्दियामा थुपै्र कृषियोग्य जमिन रहेकाले आउँदो बजेटमा नै बर्दियामा कृषिमा आधारित ठूलो परियोजना सुरु हुनुपर्ने माग गरे ।

बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद महेश्वरजंग गहतराजले सबै जनप्रतिनिधिको पहिलो माग नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्ने बताए । नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा पश्चिम नेपालका सबै बासिन्दाका लागि पायक पर्ने समेत उनको भनाइ छ । अर्का सांसद नन्दलाल रोकायले पहिलो प्राथमिकता अन्तर्राष्ट्रिय विमानस्थल र दोस्रो प्राथमिकता भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरिनु पर्ने बताए ।

पूर्व मन्त्री समेत रहेका सांसद मोहम्मद इस्तियाक राईले नेपालगन्जका लागि प्राविधिक शिक्षा दिने विश्वविद्यालय पनि आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल र ठूला कार्यक्रम गर्नका लागि सभागृह अत्यावश्यक भएको बताइन् । उद्योगी पशुपति मुरारकाले नेपालगन्जलाई लोडसेडिङमुक्त बनाउन आवश्यक रहेको बताए । बाँके र बर्र्दियाका जनप्रतिनिधि सहभागी रहेको उक्त छलफलले आउँदो बजेटमा नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, बर्दियामा कृषिका परियोजना सुरु, निर्माणाधीन सिक्टा सिँचाइ, भेरी बबई डाइभर्सन र बबई सिँचाइ आयोजना तोकिएको समयका सक्न पर्याप्त बजेट विनियोजन हुनुपर्ने माग गरे ।

राष्ट्रिय सभाका सांसद पूर्णाकुमारी सुवेदी, ५ नम्बर प्रदेशका सांसदहरू कृष्णा केसी, तिलक शर्मा, विष्णु चौधरी, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, एमाले नेता लक्ष्मण ज्ञवालीले विकासका लागि सबै जनप्रतिनिधि एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

Womui
Womui