मोदी भ्रमणको सबै तयारी पूरा, जनकपुर–मुक्तिनाथसम्म पुग्दै, जनकपुर–अयोध्या बस सेवा सञ्चालन हुने

57

छिनछिन खबर
काठमाडौं, वैशाख २६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि नेपालमा लगभग सबै तयारी पूरा भएको छ । मोदी पुग्ने जनकपुर, काठमाडौं, मुक्तिनाथमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनको सुरक्षामा केन्द्रित रहँदै १० हजार सुरक्षाकर्मी परिचालन भइसकेको गृह मन्त्रालयले जनाएको छ । नेपालका बाहेक भारतीय सुरक्षाकर्मीको विशेष टोली पनि नेपाल आइसकेको छ । जनकपुरमा दुई दिन अघि नै २५ जनाको भारतीय विशेष सुरक्षाटोली पुगिसकेको हो ।
नेपाली सुरक्षाकर्मी मोदीको सुरक्षा गर्न सक्षम भए पनि भारतले छुट्टै सुरक्षाकर्मी परिचालन गरेकोमो विरोध समेत भइरहेको छ । यद्यपि भारतले यस्ता विरोधको कुनै वास्ता गरेको देखिँदैन । नेपालविरुद्ध ६ महिना नाकाबन्दी गरेका कारण मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मीले चिन्ता व्यक्त गरिरहेको बताइन्छ । गृह मन्त्रालयका एक अधिकारीले मोदीको सुरक्षा गर्न नेपाली सुरक्षाकर्मी सक्षम रहेको उल्लेख गरे पनि भारतले छुट्टै टोली खटाउनुको कारण थाहा नभएको बताए ।

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन् । भारतीय हवाई सेनाको हेलिकप्टरबाट जनकपुर आउने मोदी हेलिकप्टरबाटै काठमाडौं आउनेछन् । उनको बस्ने व्यवस्था होटल हायतमा मिलाइएको छ । उनले शुक्रबारै महत्वपूर्ण राजनीतिक भेटघाट गर्नेछन् । शनिबार बिहानै मोदी मुक्तिनाथ जानेछन् । मुक्तिनाथबाट फर्केर उनी भारतीय दूतावासले आयोजना गरेको दिवा भोजमा सरिक हुनेछन् । र, सोही दिन साँझ उनी स्वदेश फर्कने कार्यक्रम छ ।

जनकपुरमा मोदीलाई नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेल र २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने छन् भने स्वदेश फर्कंदा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिदाई गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने मोदीलाई पूजाआराधनाका लागि जानकी मन्दिर पुगेको बेला स्वागत गर्ने कार्यक्रम छ ।

पूजाआराधनापछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण करिडोरको उद्घाटन गर्ने र रामायण करिडोरसँगै जनकपुर अयोध्या बस सेवा सुरु गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै जनकपुरको बाह्रबिघा मैदानमा २ नम्बर प्रदेश र जनकपुर उपमहानगरपालिकाले नागरिक अभिन्दन गरेपछि मोदी काठमाडौ आउने छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्र मन्त्री ज्ञवालीले स्वागत गरेपछि उनी केहीबेर आरामको लागी सिधै होटल हायात रिजेन्सी जानेछन् । सोही दिन साँझ मोदीको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिने छ । गार्ड अफ अनरपछि भारतीय प्रधानमन्त्री सम्मिलित प्रतिनिधि मण्डल र नेपाली प्रतिनिधि मण्डलबीच औपचारिक रुपमा द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि सहमतिमा हस्ताक्षर भएर प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलन
गर्नेछन् ।

मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बहादुर भवनमा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच राष्ट्रपति कार्यालय शितलनिवासमा भेट गर्ने कार्यक्रम मिलाइएको छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा होटल द्धारिकाजमा रात्री भोजको आयोजना गर्नेछन् । अरुण तेश्रो जलविद्युत परियोजनाको होटलबाटै संयुक्त रुपमा उदघाटन गर्ने तयारी समेत भइरहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

वैशाख २९ गते भने मोदी मुस्ताङमा रहेको मुक्तिनाथ दर्शनको लागि विशेष हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने र फर्केपछि भारतीय राजदूतावासले आयोजना गरेको दिवा भोजमा सहभागी हुनेछन् । दिवाभोजपछि उनको स्वदेश फर्कने कार्यतालिका बनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीलाई बिदाई गर्नेछन् ।

Womui
Womui