कैलाली भ्रमण वर्ष सुरु, पर्यटक आगमणको संख्या बढ्ने अपेक्षा

150

छिनछिन खबर
कैलाली, वैशाख २३ । कैलाली भ्रमण वर्ष २०७५ सुरु भएको छ । रक्षामन्त्री ईश्वर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गरे । सोही क्रममा बोल्दै उनले ७ नं प्रदेशको पर्यटन विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । कैलालीमा पर्यटनको ठूलो सम्भावना भएपनि खासै उपलब्धि हुन नसकेको गुनासो व्याप्त छ ।

भ्रमण वर्षको सुरुवातले पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने प्रदेशसभा सदस्य अमरबहादुर साउदले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले धनगढीमा रहेको गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्तरोन्नतिको पहल थालिने बताए ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावल, पूर्वमन्त्री लेखराज भट्ट, भ्रमण वर्ष सचिवालयका संयोजक एवं जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापालगायतले पर्यटन प्रवद्र्धनका विषयमा बोलेका थिए ।

भ्रमण वर्षको औपचारिक उदघाट्नपछि कर्णाली नदीमा डुंगामार्फत् प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यले सामूहिक रुपमा ‍रयाफ्टिङ गरे । कर्णाली नदी जलयात्राका लागि निकै उपयुक्त भए पनि यसले व्यावसायिक रुप भने लिन सकेको छैन ।

कैलाली भ्रमण वर्षले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका छन् । कैलालीको कर्णाली चिसापानी प्रदेश नं ७ को प्रवेशद्वारका रुपमा रहेको छ । चिसापानीस्थित कर्णाली नदीमा बनेको ‘केबुल स्टेड ब्रिज’ दक्षिण एशियाकै नमूनाको पुल मानिन्छ ।

भ्रमण वर्षका क्रममा जिल्लाका पर्यटकीय, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक एवं दुर्लभ वन्यजन्तुको वासस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । ।

कैलालीमा चिसापानी क्षेत्र, कर्णाली पुल, राजकाँडा, टीकापुर बृहत् उद्यान, घोडाघोडी ताल, डल्फिन संरक्षण तथा प्रजनन् केन्द्र, वसन्ता जैविक मार्ग, खानीडाँडा जस्ता रमणीय–दर्शनीयस्थल तथा गोदावरी धाम, शिवपुरी उत्तर रामेश्वरम धाम, बेहडाबाबा, मोहन्याल क्षेत्र, बर्दगोरिया धाम, त्रिवेणी धामजस्ता धार्मिकस्थल छन् ।

Womui
Womui