सदरलाइनकाे मुहार फेरिँदै

58

नेपालगन्ज– सदरलाइन सडक किनारका संरचना भत्काउन सुरु गरिएको छ । सदरलाइन सडक निर्माण तथा विस्तारलाई तीव्रता दिन नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि सडक किनारका सम्पूर्ण संरचना भत्काउन सुरु गरेको हो । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलाशले सदरलाइन सडक निर्माणलाई निरन्तरता दिन आदेश दिएकोसँगै उपमहानगरपालिकाले डोजर लगाएर सडक किनारका सडकपेटी, वरण्डा, सिँढी, देवाललगायतका संरचना भत्काउन सुरु गरेकाे छ । घरधनी पार्वती देवी तमोलीसहित १४ जनाले नेपालगन्ज उपमहानगरपालिका, सहरी विकास परियोजना, नेपालगन्ज उद्योग वाणिज्य संघलाई विपक्षी बनाई मुद्दा दायर गरे पनि अदालतले निर्माण कार्य रोक्न नपर्ने गरी आदेश दिएको थियो ।

त्रिवेणीमोडदेखि नगर भवनसम्मको १४ मिटर चौडा सडक खाली गर्न गराउन सूचित गरिए पनि घरधनीले अटेर गरेपछि सडक किनारका स‌ंरचना भत्काउन लागिएकाे हो । जिल्ला प्रशासन कार्यालयदेखि त्रिभुवन चाैकसम्मका संरचना भत्काइने उपमहानगरपालिकाले जनाएको छ । क्षेत्रीय सहरी विकास आयोजनामार्फत अहिले नगरमा सडक, नाला निर्माणको काम भइरहेको छ । सदरलाइनमा अहिले त्रिवेणीमोडदेखि सडक, नाला निर्माण भइरहेको छ । सडक किनारका संरचना डोजरमार्फत भत्काइँदा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापामगर, आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जन, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । नगर उपप्रमुख उमा थापामगरले सडक मापदण्ड अनुसार संरचना भत्काइ निर्माण कार्य अघि बढाइने बताइन् । उनले भनिन्,‘ सडक अतिक्रमित संरचना हटाउने कार्यलाई पूर्णता दिन सबैकाे साथ र सहयोगकाे अपेक्षा गरेका छाै‌ं ।’

Womui
Womui