नागरिक अभिनन्दनलाई भब्य बनाउन पत्रकारका संघ, संगठनको ऐक्यवद्धता

70

नेपालगन्ज, वैशाख २१-
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’को नेपालगन्जमा गर्न लागिएको नागरिक अभिनन्दनलाई भव्य बनाउनुपर्ने निस्कर्षसहित पत्रकारका विभिन्न संघ, संगठनले ऐक्यवद्धता जनाएका छन् । आगामी जेठ १८ गते चाचाजीको नागरिक अभिनन्दन नेपालगन्जमा भब्य रुपले गरिदैछ । उक्त कार्यक्रमको संयोजन गरिरहेको नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा गरेको छुट्टा-छुट्टै छलफलमा नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी र प्रेस सेन्टर बाँकेका अध्यक्ष तथा पदाधिकारीले कार्यक्रमलाई सफल पार्न सबै संगठन पुर्ण रुपले परिचालित हुनुपर्ने बताए ।


पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले ‘चाचाजी’ को नागरिक अभिनन्दनका लागि महासंघले पुर्ण रुपले सहकार्य गर्ने प्रतिवद्धता जनाउँदै पाएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताए । ‘चाचाजी जस्तो ब्यक्तित्वको नागरिक अभिनन्दन गर्न पाएकोमा हामी भाग्यमानी छौं, म यो कार्यक्रमप्रति एकदमै उत्साहित छु, अभिनन्दनलाई भब्यता दिन महासंघका सम्पुर्ण सदस्यलाई हामी सहभागि गराउनेछौं,’ अध्यक्ष थारुले भने । नागरिक अभिनन्दनका लागि युनियनले संयोजन गरेकोमा आभार प्रकट गर्दै उनले सबै आस्था र विचारका पत्रकारले यसलाई सफल बनाउनुपर्ने बताए । उक्त कार्यक्रमका लागि सहकार्य स्वरुप महासंघले तत्कालका लागि १० हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरे । सो क्रममा पत्रकार महासंघका सचिव तिलक गाउँले र सहसचिव सकिल अहमद कादरीले पनि आवश्यक सल्लाह, सुझाव दिएका थिए ।

यस्तै प्रेस चौतारीका केन्द्रिय सदस्य भेषराज बस्नेतले पन्नालाल चाचाजीले नागरिकको स्वतन्त्रताको लागि पत्रकारिता गरेको उल्लेख गर्दै नागरिक अभिनन्दन गर्नु सम्पुर्ण नेपालगन्जबासीको दायित्व भएको बताए । नागरिक अभिनन्दनलाई पेशागत र नागरिक स्तरका संघ, संगठन, नेपालगन्जसबासीले पनि अपनत्व लिनुपर्ने धारणा राखे ।
प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बि.कले नागरिक अभिनन्दन सफल पार्न जस्तो सुकै जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘कार्यक्रमको संयोजन प्रेस युनियनले गरेपनि प्रेस चौतारीले पाएको जिम्मेवारी पुर्ण रुपले पुरा गर्न हामी तयार छौं, कहाँ जानुप¥यो र के सहयोग गर्नु¥यो, हामीलाई भन्नु होला ।’  चौतारी बाँकेका सचिव कमल डाँगीले चाचाजीको नागरिक अभिनन्दनलाई भब्यता दिन चौतारीले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । ‘चाचाजीको नागरिक अभिनन्दनले पत्रकारका संघ संगठनलाई एउटै शुत्रमा बाँध्ने काम गरेको छ, यो एकदमै खुसीको कुरा हो,’ उनले भने ।


प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले नागरिक अभिनन्दनलाई सफल पार्न आफुहरुले जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताए । उक्त कार्यक्रमलाई सफल पार्न प्रेस सेन्टरले आफ्ना सदस्यहरुलाई परिचालन गर्ने प्रतिवद्धता जनाए । ‘चाचाजीको नागरिक अभिनन्दनका लागि प्रेस सेन्टरले भौतिक, आर्थिक र नैतिक रुपमा जस्तो सुकै सहयोग गर्न तयार छ, हामी सबैले उहाँको कार्यक्रमलाई साझा रुपले सफल पारौं,’ उनले भने । सो क्रममा प्रेस सेन्टर बाँकेका उपाध्यक्षद्धय आलम खान र कृष्ण ओली तथा सदस्य गजेन्द्र गुरुङले नागरिक अभिनन्दनलाई ऐतिहासिक बनाउनुपर्ने सुझाव दिए । ‘नागरिक अभिनन्दन कार्यक्रममा सबै पक्षको बढीभन्दा बढी सहभागिता गराउनुपर्छ, त्यसको लागि सबै पत्रकारले सक्रियता देखाउनुपर्यो ।’

प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा सम्पन्न छुट्टा-छुट्टै छलफलमा पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले नागरिक अभिनन्दनलाई सबैको साझा कार्यक्रमका रुपमा लैजानुपर्ने बताए । ‘चाचाजीलाई सबै क्षेत्रबाट अभिनन्दन गरिनुपर्छ, यसका लागि सबै पेशागत तथा नागरिक संघ, संगठनलाई यो कार्यक्रममा जोड्नुपर्छ, ताकी कार्यक्रमको गरिमा अझ बढोस्,’ उनले भने । पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले चाचाजीको योगदान पत्रकारितामा मात्र सिमित नभएर प्रजातन्त्र प्राप्ति र समाज सेवामा पनि उत्तिकै योगदान रहेको बताए ।  ‘कतिपयले चाचाजीलाई पत्रकारको रुपमा मात्रै चिनेका होलान्, तर उहाँको योगदान पञ्चायतविरुद्धको आन्दोलन र समाजसेवामा पनि उतिकै छ, यो कुरा सबैलाई बुझाउन जरुरी छ,’ गौतमले भने ।

पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष शुक्रऋषि चौलागाईले चाचाजी सबैको साझा ब्यक्तित्व भएकाले सबै पक्षले अपनत्व लिनुपर्ने बताए । ‘बाँकेमा सफल हुने चाचाजीको नागरिक अभिनन्दनले बाहिरी जिल्लामा पनि त्यसको सकारात्मक सन्देश जानेछ,’ उनले भने । प्रेस युनियन बाँकेका अध्यक्ष शाहले चाचाजी युनियनको संस्थापक अध्यक्ष भएको नाताले युनियनले नागरिक अभिनन्दनको संयोजन गरेपनि पत्रकारको छाता संगठन लगायत सबै पेशागत संगठनसँग सहकार्य गरिएको बताए । नागरिक अभिनन्दनलाई भब्यता दिन नेपालगन्जका विभिन्न पेशागत र नागरिक संघ, संगठनसँग पनि चरणवद्ध छलफल गरिने अध्यक्ष शाहले जानकारी दिए ।  नेपालगन्ज त्रिभुवन चोक पुर्वलाईन निवासी ८९ बर्षिय प्रेस स्वतन्त्रता सेनानी गुप्त युनियन बाँकेको संस्थापक अध्यक्ष हुन् । उनी किरण साप्ताहिक पत्रिकाको सम्पादक/प्रकाशक रहदै आएका छन् । गुप्तले निरन्तर रुपमा अखबार प्रकाशन मात्र होईन, रिर्पोटिङमा समेत आफै खटिएर युवा पुस्तालाई समेत उर्जा दिईरहेका छन् ।

Womui
Womui