पाँच किसानलाई राष्ट्रपति क्षेत्रीय पुरस्कार, यी हुन् उत्कृष्ठ किसान

135

छिनछिन खबर
सुर्खेत, वैशाख १५ । यसवर्षको राष्ट्रपति उत्कृष्ट क्षेत्रीय पुरस्कार साविकको मध्यपश्चिमका पाँच किसानले प्राप्त गरेका छन् । व्यवसायिक खेती गरेका उत्कृष्ट किसानलाई उक्त पुरस्कार प्रदान गरिएको हो । व्यवसायिक कृषि पेशालाई सम्मानीत पेशा बनाउन र कृषकको मनोभावना उच्च राख्न सहयोग पुगेको भन्दै बाँकेका लालबहादुर सुनार सहित पाँच कृषकलाई क्षेत्रीयस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो ।

उत्कृष्ट कृषि खेती गर्दै आएका डोल्पाका रणजीत बोहरा, दैलेखका देवेन्द्रकुमार गोदार, सुर्खेतका प्रेमकुमार आचार्य र सल्यानका सुरेशकुमार गाहा मगर सहितले राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरे । साविकको मध्यपश्चिम विकास क्षेत्रका १५ जिल्लाबाट परेको आवेदनका आधारमा उत्कृष्ट कृषक चयन गरिएको हो ।

कृषि पेशालाई व्यवसाय र आम्दानीको प्रमुख स्रोत बनाएका कृषकलाई हरेक वर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिन्छ । उत्कृष्ठ किसानलाई जनही २५ हजार रुपैयाँ र प्रमाणपत्र सहित सम्मान प्रदान गरिएको छ । कृषकहरुलाई सम्मानपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने बताए । ‘दुनियाँले मरुभुमि र समुद्रमा कृषिको विकास गरेका छन्,’ शाहीले भने, ‘हाम्रो प्रदेशमा उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छन्, हामीले किन बाहिरबाट आयात गरेर खाने ?’
कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो संभावना बोकेको प्रदेश भएको बताउँदै उनले फलफूल, पशुपालन, तरकारी र अन्नबालीको व्यवसायिक खेतीमा लाग्न जोड दिए ।

Womui
Womui