एनआईसि एसिया दंगाली गोर्खाजलाई उपाधि

128

नेपालगन्ज, बैशाख १२-
आशिर्वाद पेन्ट्स नेपालगन्ज कपकोे उपाधि एनआईसि एसिया दंगाली गोर्खाजले हात पारेको छ । कोहलपुरमा बुधबार सम्पन्न फाईनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि जितेको हो । उपाधिसँगै दंगाली गोर्खाजले १ लाख ११ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ, भने रोल्पा गोरिल्लाजले नगद ६० हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।


प्रतियोगिताकै उत्कृष्ट खेलाडी एबरोल टीएमटी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए । उत्कृष्ट ब्याट्सम्यान पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर एनआईसि एसिया दंगाली गोर्खाजका साहिद अन्सारी घोषित भएका छन् । यसैगरी उदयमान खेलाडी एनआईएसिया दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन सिद्धान्तराज शाही (पाल्पा योद्धाज), फेयर प्लेयिंग टिम आर्शिवाद पेन्ट्स पाल्पा योद्धाज घोषित भएको छ । फाईनल खेलको म्यान अफ द म्याच सन्दिप सुनार घोषित भएका छन् ।
कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको रोल्पा गोरिल्लाजले १९ दशमलभ १ ओभरमा सम्पूर्ण बिकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो । अत्यन्त खराब सुरुवात गरेको रोल्पाले पहिलो ८ विकेट ३३ रनको स्कोरमै गुमाउन पुगेको थियो । कप्तान सौरभ खनाल ३, रमेश सिंह १, आकाश थापा ५, नन्दन यादब १०, समसुद्दिन अन्सारी ४, भिम सार्की ३, बसन्त कार्की ४ रनमा पेभेलियन फर्किएपछि गोरिल्ल्लाज लज्जास्पद योगफलतर्फ अघि बढेको थियो ।
नवौं विकेटको लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए । शेर १४ रन बनाएर आउट भएपछि रोशनले मेराज अन्सारीसंग दशौं विकेटको लागि २१ रनको साझेदारी गरे । अन्तिम विकेटको रुपमा आउट हुनु अघि रोशनले मात्र २४ बलमा १ छक्का र ४ चौका प्रहार गरे भने मिराज अन्सारीले अविजित ७ रन बनाए ।
रोल्पालाई सस्तोमै समेट्न दंगाली गोर्खाजका देब्रे हाते स्पिनर अनिल खरेलले ३ विकेट लिए जसको लागि ४ ओभरमा मात्र १६ रन खर्चिए । यस्तै कप्तान सन्दिप सुनारले २ विकेट लिएका थिए । रोल्पा गोरिल्लाजले दिएको ९० रनको लक्ष्य दंगाली गोर्खाजले ८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जितमा दंगालीका कप्तान सन्दिप सुनारले आक्रामक ब्याटिंङ गर्दै मात्र २४ बलमा ८ चौका र २ छक्का मदतले ४६ रन बनाए । यस्तै मनोज सुनारले अविजित २४ रन बनाउन १९ बलमा ५ चौका प्रहार गरे। फाइनल खेलका म्यान अफ द म्याच दंगाली गोर्खाजका संदिप सुनार घोषित भए ।
यही बैशाख ३ गतेबाट सञ्चालन भएको प्रतियोगितामा ६ वटा पन्चाइज टिमको सहभागिता रहेको थियो । विजेता तथा उप विजेतालाई संघिय ईकाइ कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाह, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेत, आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गाप्रसाद चौलागाई लगायत अतिथीले पुरस्कार वितरण गरे ।

Womui
Womui