कांग्रेस नेता खड्काको निधनप्रति संसदमा शोक प्रस्ताव

107

काठमाडौं,चैत १९ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का दुवै सदनको बैठक सोमबार बस्दैछ । पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्न दुवै सदनको बैठक बस्न लागेको हो ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको २ बजे आह्वान गरिएको छ । दुवै सदनको शोक प्रस्ताव पारित गराउने समान कार्यसूची छ ।

०४८, ०५१ र ०५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वा्चित खड्काको गत शुक्रबार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । आइतबार उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । निधन भएको ३ दिनपछि संसदले पूर्वसांसद् खड्काको शोक प्रस्ताव पारित गर्न लागेको हो ।

शोक प्रस्तावबाहेकका कार्यसूचीमा भने सोमबार छलफल नहुने सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारितपछि थप विषयमा छलफल नहुने परम्पराअनुरुप अन्य कार्यसूचीमा छलफल नहुने भएको हो ।

सचिवालयका अनुसार सोमबार नै अर्को दोस्रो बैठक बस्ने सम्भावना पनि छ । दोस्रो बैठक बसेमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत हुने सम्भावना छ । दुवै अध्यादेश संसदमा पेश भएका भए पनि अझै स्वीकृत भएका छैनन् । त्यसैगरी प्रतिनिधिसभा तथा राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन संसदमा पेश हुने सम्भावना पनि रहेको सचिवालयले जनाएको छ ।

Womui
Womui