किन बढ्यो वैदेशिक रोजगारीमा महिलाको आकर्षण ?

251

मालती खड्का

काठमाडौं, चैत १७ ।
जति दशनंग्रा खियाए पनि हातमुख जोर्न धौधौं पर्न नछोडेपछि दोलखा, जेठलाकी रञ्जना तामाङ दुई साता अघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गइन् ।
दश कक्षासम्म अध्ययन गरेकी रञ्जनाको चाहना सकभर स्वदेशमै बसेर केही काम गर्ने इच्छा थियो । ‘जिल्लादेखि राजधानीसम्म विभिन्न अवसर पाइन्छ कि भनेर चहारेँ,’ युएई उड्ने बेला उनले भनिन्, ‘देश नै वेरोजगारीको थलो भएकाले विदेश नगई भएन ।’ वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यताले गर्दा रञ्जनाले पाँच वर्षीया छोरी र पतिलाई घरमै छाडेको बताउँछिन् ।
उनले वैदेशिक रोजगारीमा सकभर पतिलाई पठाउन चाहन्थिन् । तर, उनका पति गोरे स्वास्थ्य परीक्षणमा अयोग्य भएपछि रञ्जनाले आफैँ वैदेशिक रोजगारीमा जाने निर्णय गरेकी हुन् ।
बर्दिया, सानोश्रीकी ममता चौधरीले पनि रोजगारीका लागि यसैसाता विदेशको बाटो तताइन् । जति मेहनत गर्दा पनि गुजारा चलाउन नसकेपछि ममताले ९ र ६ वर्षका दुई छोराछोरीलाई घरमै छाडेर वैदेशिक रोजगारीमा जाने निर्णय गरेकी हुन् । ५ वर्ष अघि पति शंकरको सडक दुर्घटनामा निधन भएपछि घर र बालबालिकाको जिम्मेवारी ममताको काँधमा आएको थियो । ‘सकभर छोराछोरी छाडेर वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने लागेको थियो,’ उनले भनिन्, ‘घरमा रहँदा सामान्य खर्चको जोहोसमेत गर्न नसकेपछि वैदेशिक रोजगारी एक मात्र विकल्प भयो ।’ उनी रोजगारीका लागि कुबेत गइन् ।
पछिल्लो समयमा महिलाहरूमा बढेको चेतनाले स्वदेशमा कुनै समस्या प¥यो या आर्थिक संकट आइपर्दा त्यस्ता महिला वैदेशिक रोजगारीमा जाने र आवश्यकता जुटाउने क्रम बढ्दो छ । केही वर्ष अघिसम्म पराइ लोग्नेमान्छेसँग बोल्नसमेत लजाउने महिलाहरू यतिखेर धमाधम वैदेशिक रोजगारीमा जाने र कमाइ गर्ने क्रम बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको ७ महिना (साउनदेखि माघसम्म) दुई लाख ४४ हजार पाँच सय ३४ ले श्रम स्वीकृति लिँदा १२ हजार ९० महिला रोजगारीका लागि विदेशिए । यस अवधिमा सबभन्दा बढी पाँच हजार ४६ महिला युएई गएका छन् । विभागका अनुसार आर्थिक वर्ष २०६२÷६३ देखि हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या भने एक लाख ४० हजार आठ सय ९६ पुगेको छ । चालू आर्थिक वर्षको साउनयता विदेशिने महिलाको संख्या बढिरहेको छ । विदेशिएका महिलाहरूको अनुभवमा राम्रो रोजगारदाता कम्पनी फेला पर्ने हो भने वैदेशिक रोजगारीबाट राम्रै आम्दानी गर्न सकिन्छ ।
९ वर्ष इजरायलमा केयर गिभरको काम गरेर अघिल्लो वर्ष घर फर्किएकी नेपालगन्ज उपमहानगरपालिका–१ की कमला लम्सालका अनुसार राम्रो रोजगारदाता फेला पार्न सक्ने हो भने वैदेशिक रोजगारीले सामान्य गुजारा मात्र नभई सम्पत्ति जोड्न पनि सघाउँछ । ९ वर्ष इजरायल बसेको रकम बचाएर कमलाले दुई छोरीलाई स्नातकसम्मको अध्ययन गराउनुको साथै नेपालगन्जमा दुई तले घर बनाएर बचेको रकमले काठमाडौं, सुन्दरीजलमा घडेरी किनेको समेत जानकारी दिइन् । इजरायलको बचत अझै नसकिएका कारण यसैवर्ष सुन्दरीजलमा घर बनाउने उनको योजना छ ।

Womui
Womui