प्रतिनिधि सभा बैंठक : राजनीतिक एजेण्डा पुरा भएको नेताहरुको दाबी

33

काठमाडौं-संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा मंगलबार शीर्ष नेताहरुले बोल्ने क्रम चलिरहेको छ । बैठकमा बोल्ने नेताहरुले मुलुकका राजनीतिक एजेन्डा पुरा भएको दाबी गर्दै मुलुकलाई स्थायित्व र समृद्धिको बाटोमा पुर्याउनुपर्ने धारणा राखेका छन् । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानलाई सर्वस्वीकार्य गराउने बाटोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै ‘संविधानका आधारभूत संरचनालाई तलमाथि पार्ने काम कतैबाट नहोस्’ भन्ने कामना गरे । ‘धेरै ठूलो बलिदानपछि प्राप्त उपलब्धिहरुलाई फेरि परिवर्तन गर्ने प्रयत्न नहोस्,’ उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन धेरै दिन नरहने र चाँडै नै एमाले र माओवादीबीच एकीकरण हुन लागेको बताए । निर्वाचनमा वाम गठबन्धनले दिएका स्थायित्व, सुशासन र विकासको नारालाई जनताले समर्थन गरेको उल्लेख गर्दै दाहालले भने, ‘हामी त्यसमा इमान्दार हुनुपर्छ र अबको पाँच वर्षमा विकासको आधार खडा गर्न सक्नुपर्छ ।’

यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकार आउँदैमा आत्तिनु पर्ने अवस्था नआएको बताए । प्रतिपक्षले सुरुमै आलोचना गर्नुभन्दा बाम गठबन्धनलाई काम गर्न दिनुपर्ने बताए । नेपालले वामशक्तिको सरकार हुँदैमा लोकतन्त्र खोसिने भन्ने आशँका नगर्न पनि उनले आग्रह गरे । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान गीता, कुरान, वाइवल नभएको बताए । उनले भने, ‘समावेशीताको बारेमा बोल्दा साम्प्रदायीकताको आरोप लगाइयो, सबैलाई अपनत्वको भावनाका साथ अघि बढाउनु पर्छ ।’ महतोले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाई समेत दिए । ‘जनमत प्राप्त गर्नु भएकोमा तपाईहरुलाई बधाई छ, नयाँ युगको निर्माणको लागि तपाईहरुको ठूलो भूमिका रहनेछ,’ उनले भने ।

Womui
Womui