ढुक्कसँग काम, कर्तव्य पुरा गर्ने महिला जनप्रतिनिधिको प्रतिवद्धता

128

नेपालगन्ज-स्थानीय तहका महिला जनप्रतिनिधिले अब ढुक्कसँग आफ्नो काम, कर्तव्य पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । निर्वाचित भएपनि जिम्मेवारी बिहिन बनेका महिला जनप्रतिनिधिले आफ्नो काम, कर्तव्य र अधिकारबारे क्षमता विकास तालिम लिएपछि यस्तो बताएका हुन् ।

क्षमता विकास तालिममा सहभागी भएका महिला जनप्रतिनिधि ।

इन्रुडेकको सहकार्यमा साझेदारी विकास परियोजनाले बाँकेको बैजनाथ र खजुरा गाउँपालिकाका वडा स्तरमा रहेका महिला जनप्रतिनिधिलाई आइतबारदेखी मंगलबारसम्म तालिम दिएको थियो । तालिम समापन अवसरमा महिला जनप्रतिनिधिले आफुहरु अब ढुक्कसँग जनताको सेवामा सर्मपित हुने बताए । उनीहरुलाई तीन दिनसम्म नेपालको संविधान र संघीय संरचना, वडा समितिको काम कर्तव्य र अधिकार, नेतृत्वको परिभाषा, स्थानीय तहमा महिला र विपन्न वर्गको सहभागिता, वडा समितिको सिफारिस सम्बन्धी अधिकार र कार्यसम्पादन लगायत विषयमा प्रशिक्षण दिइएको थियो ।

इन्रुडेक कोहलपुरको सहकार्यमा साझेदारी विकास परियोजनाले सञ्चालन गरेको तालिममा प्रशिक्षक बिनोदप्रसाद ढकाल र सोविता परियारले प्रशिक्षण दिएको कार्यक्रम संयोजक सुमन विश्वकर्माले जानकारी दिए । इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले महिला जनप्रतिनिधिलाई सैद्धान्तिक र व्यवहारिक हिसाबले प्रशिक्षण दिदा तालिमलाई ब्यवहारमा ल्याउन सहज भएको बताए । महिला जनप्रतिनिधिले वडा स्तरमा जिम्मेवारी नपाएको कुरालाई मध्यनजर गर्दै आफुहरुले प्रशिक्षण दिइएको र अन्य स्थानीय तहमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिएका छन् ।

Womui
Womui