रकम अभावले मृगौला प्रत्यारोपन गर्न समस्या

104

नेपालगन्ज-दुबै मृगौला फेल भएपछि स्वास्थ्य लाभ गरिरहेकी नेपालगन्ज उपमहानगरपालिकास्थित पुरैनी निवासी अस्मिता पुनमगरलाई उपचारमा समस्या देखिएको छ । सरकारले दिने भनिएको सुविधा पीडित समक्ष पर्याप्त मात्रामा पुग्न नसक्दा उपचारमा समस्या देखिएको हो । २४ बर्षिया अस्मिताको उपचारका लागी माईती पक्ष र परिवारले अहिले सम्म करिव ७ लाख रुपैयाँ खर्च गरिसकेका छन् । अस्मिताकी आमा ४५ बर्षिया गोमा पुन छोरीलाई आफ्नो मृगौला दिन तयार छिन्, तर मृगौला प्रत्यारोपनका लागी चाहिने आवश्यक रकम नहुँदा उनी तनाबमा छिन् ।

छोरीलाई मृगौला दिन तयार गोमा पुन ।

दाताहरुले दिएको सहयोग रकम छोरीको डाईलाशिस गर्न र काठमाडौं–नेपालगन्ज ओहोर दोहोर गर्न पनि नपुगेको गोमाले बताईन् । ‘दाताहरुले दिएको पैसा लगभग १ लाख जति संकलन भएको थियो, त्यो पैसाले छोरीलाई काठमाडौं लैजान र ल्याउन खर्च भईहाल्यो,’ उनले भनिन् ‘मिल्ने भए त मेरो पेट चिरेर भएपनि छोरीलाई मृगौला दिन्थ्ये, छोरीको पीडाले निद्राभोक छैन ।’

छोरी अस्मिता र आफ्नो रगत समुह एउटै भएका कारण आफु मृगौला दिन तयार भएको उनले बताईन् । मृगौला प्रत्यारोपका लागी कम्तिमा पनि १५ लाख रुपैयाँ जति खर्च लाग्ने कुरा डाक्टरले बताएको गोमाले सुनाईन् । छोरीको उपचारका लागी सुरुका चरणमा घरपरिवारले उपचार खर्च व्यहोरेपनि अहिले सबै खर्च आफुहरुले ब्यहोरिरहेको बताईन् । गोमा भक्कानिदै भनिन्, ‘आफुले जन्माएको सन्तानको माया लाग्दो रहेछ, घरको खर्च कटाएर भएपनि छोरीको उपचारमा लगाइरहेका छौं ।’ बैदेशिक रोजगारीमा रहेका आफ्ना पतिले कमाएर पठाएको सबै पैसा छोरीको उपचारमा खर्च गर्नु परेको दुखेसो पोखिन् ।

दुबै मृगौला फेल भएर स्वास्थ्य लाभ गरिरहेकी अस्मिता पुन ।

अस्मिताले हप्तामा दुई पटक नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अनिवार्य डाईलाशिस गर्नुपर्छ । डाईलाशिस गर्दा केहीमा छुट पाएपनि औषधी, सुई जस्ता बस्तु खरिद गर्दा कम्तिमा २५ सय रुपैयाँ खर्च लाग्ने गोमाले बताईन् । ‘छोरीलाई डाईलाशिस गर्दा कहिले काही त गोजीमा एक सय पनि हुदैन,’ उनले भनिन् । छोरीलाई सहयोग गर्ने दाताले राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर ४१३००३९९३११० मा रकम जम्मा गरिदिन पनि गोमाले आग्रह गरेकी छन् ।

Womui
Womui