राज्यले नर्सलाई सम्मान दिन नसकेको गुनासो

199

नेपालगन्ज-नर्सिङ क्षेत्रले गरेको सेवा अनुसार राज्यले सम्मान गर्न नसकेको नर्सहरुले गुनासो गरेका छन् । नेपाल नर्सिङ संघको ५६ औं स्थापना दिवसको सन्दर्भमा सोमबार आयोजित गुणस्तरिय स्वास्थ्य सेवाका लागी नर्सिङकर्मीको भूमिका विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्ने नर्सिङ क्षेत्रका अगुवाले यस्तो बताएका हुन् । भेरी अञ्चल अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले नर्सहरुले गरेका थुपै्र काम ओझेलमा पर्ने गरेको बताउँदै भनिन्, ‘राज्यले दिएको हक नर्सले नपाएको अवस्था छ, महिलाले अपनाउने पेशा भएको कारणले पनि राज्यले चासो नदिएको हुन सक्छ ।’

अन्र्तराष्ट्रिय मापदण्डलाई हेर्ने हो भने एक जना नर्सले ४/५ जना बिरामी मात्र हेर्नुपर्छ । तर, नेपालमा एउटा नर्सले ६०/७० जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको बताईन् । भेरी अञ्चल अस्पतालमै एउटा नर्सले ६० जना बिरामी हेरिरहेको प्रमुख नर्सिङ प्रशासक श्रेष्ठले जानकारी दिईन् । हालै भेरी अञ्चल अस्पतालबाट सेवा निवृत्त नर्स सावित्री श्रेष्ठले डाक्टरको भन्दापनि धेरै ठुलो भुमिका नर्सहरुको हुने गरेको बताईन् । ‘डाक्टर त हावा जस्तै आउँछन्, तुफान जस्तै जान्छन्,’ उनले भनिन् ‘नर्सले रातदिन काम गर्दापनि राज्यले उचित सम्मान दिदैन ।’ आफुले ४२ बर्ष नर्सिङ पेशामा बिताएर सेवा निवृत्त भएको बताउँदै श्रेष्ठले नर्सको पनि निजी जीवन हुने भएकाले राज्यले सम्मान दिनुपर्ने माग गरिन् । सेवा निवृत्त अर्का नर्स मनसरा थापाले नर्सहरुमा आत्मैदेखी सेवाको भावना जाग्नुपर्ने बताईन् ।

नर्सहरुले आफ्नो पेशालाई व्यवसायिक बनाउँदै लैजानुपर्ने उनको सुझाव छ । नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेशबहादुर शाही, भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर कृष्ण आचार्य, चिकित्सक संघ भेरी अञ्चलका अध्यक्ष डा. विनोद कर्ण, पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विभिन्न कलेजका नर्सहरुले साँङ्गितिक प्रस्तुती देखाएका थिए । सो क्रममा सेवा निवृत्त नर्सद्धय सावित्री श्रेष्ठ र मनसरा थापालाई दोसल्ला तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो । दिवसको अवसरमा भेरी बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न पनि वितरण गरिएको संघका अध्यक्ष ओलीले जानकारी दिईन् ।

Womui
Womui