चरम लापरबाहीले भेरी अस्पतालमा युवती बाँच्नु र मर्नुको दोसाधमा

146

विश्वराज पछलडंग्या
नेपालगन्ज-लाउला, खाउला उमेरकी २२ बर्षिय रुमा चौधरी भेरी अञ्चल अस्पतालको आइसियु वार्डको १ नम्वर बेडमा जीवनको अन्तिम लडाई लडिरहेकी छन् । त्यो लडाई उनि ठुलै रोग लागेर सिकिस्त बिरामी परेर होइन कि बिरामी भएर उपचार गर्ने डाक्टर, नर्सदेखी रक्त सञ्चार केन्द्र खोलेर आफुलाई मानवीय सेवा गरेको भन्न रुचाउने संस्था रेडक्रसमा कार्यरत कर्मचारीको चरम लापरबाही कारण रुमा बाँच्नु र मर्नुको दोसाधमा आइसियुमा छटपाइरहेकी छन् । नेपालगन्ज देखी करिव १५ किलोमिटर पश्चिममा रहेको बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ निवासी रुमालाई डाक्टरकै पेरेपकिप्सन अर्थात् डाक्टरले लेखे बमोजिमकै रगत रेडक्रसका कर्मचारीले नदिएर अर्को समूहको रगत दिएको र नर्सले पनि नहेरी रगत चढाएका कारण रुमाका दुबै मृगौलाले काम गर्न छोडेर उनी भेरी अञ्चल अस्पतालको आइसियुमा छटपटाइरहेकी हुन् ।

घटना विवरण अनुसार रुमालाई नियमित रक्तश्रावको क्रममा अत्याधिक रक्तश्राब भएपछि गत पुस २१ गते रुमा थारुलाई परिवारका सदस्यले नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा ल्याएका थिए । अत्याधिक रक्तश्राब भएपछि अस्पताल पुग्दा रुमा को स्वास्थ्य अवस्था केही बिग्रिसकेको थियो । अस्पतालका चिकित्सकले उनलाई गाईनोलोजी विभागमा भर्ना गरे । भर्ना भएकै रात ‘ओ’ पोजिटिभ रक्त समूह भएकी उनलाई ‘ओ पोजिटिभ’ रगत दिइयो । त्यस रात उनलाई केही राहत मिल्यो । अस्पतालका स्वास्थ्यकर्मीले पुस २२ गते बिहान उनलाई एक प्वाइन्ट थप रगत दिनुपर्ने सल्लाह दिए, उनका बाबु राजु थारुलाई रगत लिन भेरी अञ्चल अस्पतालको कम्पाउण्डमै रहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रमा रगतको समूह र मात्रा लेखेर लिन पठाए । सामन्य नागरिक रुमाका बुवा राजुलाई नर्सले लेखे बमोजिमको रगत रेडक्रसका कर्मचारीले ओ पोजिटिभको ठाउँमा बी पोजिटिभ ग्रुपको रगत दिएर पठाइयो ।

बिरामीको उपचारमा संलग्न र उक्त समयमा डिउटीमा रहेका नर्स एवम् डाक्टरले पनि ब्लड गु्रप नै नहेरी रगत चढाईदिहाले । घटना विवरण सम्झदै रुमाका बुवा राजुले भने, ‘म सँगै रेडक्रसमा रगत लिन दुई जना गएका थियौं, अर्को मान्छेलाई ओ र मलाई ‘वी पोजिटिभ’ ग्रपको रगत दिएर पठाइएछ, मैले रगतको पोका ल्याएर दिनासाथ कुन गु्रपको रगत हो भनेर नहेरेर स्टाफ नर्सले रगत चढाउनु भयो, त्यसको केहीबेरमै छोरीको शरिरमा फोकाहरु देखियो, त्यसपछि मलाई जानकारी नदिएर अस्पतालका डाक्टरले छोरीलाई आइसियूमा भर्ना गरिदिए ।’ ओ पोजिटिभ रगत दिनुपर्नेमा भेरी अंचल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले ‘बी पोजिटिभ’ समूहको रगत दिएपछि रुमाको दुवै मृगौलाले एकैसाथ काम गर्न छोडेको हो । शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झन्–झन् गम्भिर बन्दै गएको छ । मुख सुनिएको छ, सहन नसक्ने गरि पेट दुख्न थालेको छ, भने शरिरका अन्य भागमा पनि दुखाई भएको छ । ‘शुक्रबार बिहान देखि रुमाको स्वास्थ्य अवस्था झनै जटिल भएको भेरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर कृष्ण आचार्यले जानकारी दिए ।

सुपरिटेन्डेन्ट कृष्ण आचार्यले बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिन प्रतिदिन जटिल बन्दै गएको बताए । आइसियू, डाइग्नोसिस् र औषधीमा लाग्ने सबै खर्च अहिलेसम्म अस्पतालले नै ब्यहोरिरहेको आचार्यले बताए । यहाँ थप उपचार सम्भव नहुने भन्दै चिकित्सकले रेफर गर्ने तयारी गरेका छन् । तर, केही आशा अझै बाँकी रहेकाले उनको शरिरको डाइग्नोसिस भइरहेको डा. आचार्यले बताए । रुमालाई काठमाडौंस्थित बीर अस्पतालमा रेफर गर्ने तयारी भइरहेको छ । ‘अस्पतालका डाक्टर साहवहरुले रेफर गरिसक्नु भएको छ, तैपनि केही गर्न सकिन्छ की भनेर थप डाइग्नोसिस् गरेर हेर्दैछौं,’ आर्चायले भने । अस्पतालका कर्मचारीको लापरबाहीले रुमाको स्वास्थ्य बिग्रिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यले स्विकार गरेका छन् । उनले चिकित्सकको प्रेसक्रिप्सन विपरित ग्रुपको रगत दिने र रगतको ब्यागमा उल्लेख गरिएको रगत समूह नहेरेर रगत चढाउने स्टाफ नर्स दुबै जनाको गल्ती भएको बताए । ‘ब्लड बैंकका कर्मचारी र स्टाफ नर्स दुबैको आधा–आधा गल्ती देखिन्छ,’ उनले भने ।

कर्मचारीलाई निलम्बन
चिकित्सकले दिएको प्रेसक्रिप्सन विपरित गु्रपको रगत रगत चढाउने भेरी अञ्चल अस्पतालका स्टाफ नर्स कल्पना बिकलाई अस्पतालले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले जानकारी दिए । मेसु आचार्यले बिरामीले पाएको दुःखको क्षतिपुर्ति भर्न नसकिए पनि बिरामीको निःशुल्क उपचार अस्पताल प्रशासनले गरिरहेको उनले बताए । बिरामीको उपचार गरेर पूरानै अवस्थामा फर्काउन हरसम्भव प्रयास गरिएको उनले बताए ।

अहिलेसम्म घटना गोप्य राखियो
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीले स्वास्थ्य बिग्रिए पनि अस्पताल प्रशासनले उनका बाबु, आमालाई रुमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएको थिएन । गाइनालोजी विभागबाट आइसियूमा छोरीलाई ल्याएको भनिएपनि के कारणले ल्याएको हो भन्ने जानकारी नदिएको रुमाका बाबु राजुले बताए । उनले आफूलाई छोरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी नभएको बताए । ‘छोरीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले कुनै जानकारी नदिएर गोप्य राखेको छ,’ उनले भने । अस्पतालका मेसु डा. आचार्यले पनि अहिलेसम्म घटना गोप्य राखेको बताए । उनले स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ कि भन्ने आशाले घटनालाई गोप्य राखेको बताउँदै अब भने घटना लुकाउन नसकिने अवस्था आइसकेको बताए । उनले भने, ‘अहिलेसम्म घटना गोप्य राखेका थियौं, अब गोप्य राख्न सक्ने अवस्था नै रहेन् ।’

दोषीलाई कारबाही माग
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारु, बार बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरी, शिक्षक प्रभु थारु लगायतको टोलीले रुमाको स्वास्थ्य अवस्था बुझेको छ । विपरित गु्रपको रगत दिएकै कारण रुमाको दुबै मृगौला बिग्रिएको भन्ने सूचना पाएपछि आफुहरु आएको बर्दिया नगरपालिकाका प्रमुख कविर चौधरीले बताए । उनी सहितको टोलीले बिहीबार अस्पताल प्रशासन, चिकित्सकसँग छलफल गरेको छ । छलफलका क्रममा अस्पतालकै लापरबाहीले रुमाको दुबै मृगौलाले काम गर्न छोडेको निष्कर्ष निस्केको प्रमुख चौधरीले बताए । रगत दिने ब्लड बैंकका कर्मचारी, बिरामीको शरिरमा रगत चढाउने स्टाफ नर्स, गाइनोलोजी बिभागका प्रमुख, सुपरिटेन्डेन्टलाई कारबाही र बिरामीको निःशुल्क उपचार तथा परिवारजनलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेको उनले बताए । ‘बिरामीको स्वास्थ्यमा खेलवाड गर्नेलाई हामीले कदापी उन्मुक्ति दिने पक्षमा छैनौँ,’ उनले भने, ‘कारवाही भएन भने हामीपछि हट्ने छैनौं ।

Womui
Womui